समाचार

अहिलेको अवस्थामा नेपालको सङ्घीयता अन्धाले हात्ति छामेजस्तै छ – कानून मन्त्री शाह

भजनी । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहले समाजका लागि पत्रकार सारथी भएको बताए ।

नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशको आयोजनामा आज टीकापुरमा भएको ‘चासो कानून निर्माणको’ अन्तर संवाद कार्यक्रममा मन्त्री शाहले सहकार्य, समन्वय र सहअस्तित्व विना कुनै कुरा सम्भव नभएको बताए । उनले भने, “अहिलेको अवस्थामा नेपालको सङ्घीयता अन्धाले हात्ति छामेजस्तै भएको छ ।”

सुदूरपश्चिम प्रदेशका प्रतिपक्षी दल नेपाली काङ्गे्रसका नेता डा रणबहादुर रावलले पत्रकारको काम समाचार लेख्ने मात्र नभइ समृद्धिका लागि पनि महत्वपूर्ण रहेको बताए । उनले प्रदेशको विकास र कानून निर्माणका लागि प्रतिपक्ष र सत्तापक्ष नभनेर एकजुट भएर काम गरिरहेको बताए ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय महासचिव रमेश विष्टले पत्रकार महासङ्घको ध्यान पछिल्लो समय कानून निर्माणतर्फ गएको बताए । कानून निर्माणमा सरोकारवालासँग छलफल हुनुपर्नेमा उनले जोड दिए । प्रेस जगत् परिवर्तनको सहयात्री भएको बताउँदै महासचिव विष्टले सङ्घीय सरकारले ल्याउने कानूनमा महासङ्घको आशंका रहेकाले त्यसतर्फ ध्यान तानिएको बताए । नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशको आयोजनामा भएको उक्त कार्यक्रममा कानून निर्माणका लागि अन्तरसंवाद समेत गरिएको महासङ्घका प्रदेश संयोजक अर्जुन शाहले जानकारी दिए ।
–––