बाग्मती

सबै नेपालीले अपनत्व महसुस गरे रङ्गशाला तोकिएको समय अघि नै सम्पन्न हुन्छ – धुर्मुस

चितवन । रामपुरमा निर्माण गर्न लागिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि अहिलेसम्म रु पाँच करोड ५० लाख सङ्कलन भएको छ । फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल “धुर्मुस”ले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी सो रकम सङ्कलन भएको जानकारी दिए।

धुर्मुस–सुन्तली फाउण्डेशनले सो रङ्गशालाका लागि रु तीन अर्ब लाग्ने जनाएको छ । रङ्गशाला निर्माणका लागि आफूहरुले सबैलाई सहयोगको आह्वान गरेको उनले जानकारी दिए । चितवनवासीले अपनत्व महसुस गरेर सबै नेपालीलाई पनि अपनत्व महसुस गराउन सके रङ्गशाला तोकिएको समय अघि नै सम्पन्न हुने उनले बताए । “रकम सङ्कलन गर्न विदेशमा समेत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छौँ”, उनले भने ।

रङ्गशाला निर्माण सहयोगार्थ मलेशियामा कार्यक्रम सम्पन्न गरिसकेको बताउँदै उनले आगामी दिनमा जापान, अष्ट्रेलिया र दुबईमा कार्यक्रम तय भइसकेको बताए । आर्थिक सङ्कलनका लागि जिल्ला जिल्लामा समिति गठन भइरहेको छ । अध्यक्ष कट्टेलले हरेक टोल टोलबाट सहयोग आउने क्रम जारी रहेको बताए । । समाज सेवाका लागि आफूहरुले अन्तिम पटक सबैसँग गुहार मागी रहेको बताउँदै उनले यसपछि यही कामबाट अन्य काम गर्ने बताए ।

अहिले बन्न लागेको रङ्गशालामा ३५ खेल खेलाउन सकिने छ । “विषय विज्ञसँग छलफल भइरहेको छ, रङ्गशाला निर्माणका लागि उपलब्ध २० बिघा ६ कट्ठा जग्गाको संरक्षण गर्ने काम पनि भइरहेको छ”, उनले भने । रङ्गशालालाई खेलकूद एकेडेमीका रुपमा विकास गर्ने गरी आफूहरु लागि परेको उनको भनाइ छ । नेपाली कामदारको प्रयोग गरी रङ्गशाला निर्माण गर्ने योजना रहेको कट्टेलले बताए । एक महीना अघि भरतपुर महानगरपालिकासँग क्रिकेट रङ्गशला निर्माणका लागि धुर्मुस– सुन्तली फाउण्डेशनसँग जग्गा सम्झौता भएको थियो ।