समाचार

सेना दिवसमा शस्त्राभ्यास हुँदै

काठमाडौँ । सोमबार महाशिवरात्रि तथा सेना दिवस देशरभर मनाइँदै छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा व्यावसायिक कला प्रदर्शन गर्नुका साथै शस्त्राभ्यास गर्ने कार्यक्रम तय गरेको छ ।

सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रि तथा सेना दिवसकै अवसरमा सोमबार आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी हुनुहुनेछ । सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ ।

सैनिक मञ्चको समारोहमा परेड ९शस्त्राभ्यास० र तोप बढाइँ, विपद् व्यवस्थापन अभ्यास तथा इज्जत अर्पण कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन् । सेनाको प्रयोगमा रहेका हात हतियार र उपकरणको प्रदर्शनी तथा सातै प्रदेशको सांस्कृतिक भेषभूषा र रहनसहन झल्कने झाँकी प्रस्तुत गरिने कार्यक्रम रहेको नेपाली सेनाका प्रवक्ता यामप्रसाद ढकालले जानकारी दिए ।

त्यस अवसरमा प्रधान सेनापति पूर्णचन्द्र थापाले उत्कृष्ट कार्यसम्पादन गर्ने गण र गुल्मलाई पुरस्कार तथा नयाँ गण र गुल्मलाई निशान प्रदान गर्नुहुनेछ । जङ्गीअड्डा मातहत मुलुकका विभिन्न भागमा तैनाथ पृतना, बाहिनी, गण, गुल्मलगायत निकायमा समेत सेना दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिनेछ । सेना दिवसकै उपलक्ष्यमा जङ्गीअड्डामा मङ्गलबार साँझ विशेष समारोहको आयोजना हुनेछ ।