गण्डकी प्रदेश

‘एक वडा एक पहिचान’

गलकोट । बागलुङ जिल्लाको काठेखोला गाउँपालिकाले आगामी पाँच वर्षभित्र ‘एक वडा एक पहिचान’ स्थापित गर्ने भएको छ । गाउँपालिकाका सबै वडामा छुट्टाछुट्टै पहिचान स्थापित गरेर नमूना गाउँपालिकाका रुपमा विकास गर्न ‘एक वडा एक पहिचान’ कार्यक्रम ल्याएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले आव २०७५÷७६ को नीति तथा कार्यक्रममा एक वडा एक पहिचान स्थापित गर्ने गरी गाउँपालिकाका आठै ओटा वडालाई भौगोलिक, सांस्कृतिक तथा उत्पादनका हिसाबले वर्गीकरण गरिएको गाउँपालिकाका अध्यक्ष अमर थापाले बताए। “प्रत्येक वडामा फरकफरक पहिचान स्थापित गर्ने गरी कार्यक्रम ल्याएका हौँ,” थापाले भने, “गाउँपालिकाले गरेको वर्गीकरणका आधारमा वडाले पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्नेछ ।”

गाउँपालिकाले वडा नं १ लाई हाटबजार विस्तार, वडा नं २ लाई पर्यटन तथा जडीबुटी, वडा नं ३ लाई आलुको पकेट क्षेत्र, वडा नं ४ लाई सांस्कृतिक सङ्ग्रहालय, वडा नं ५ लाई धार्मिक पर्यटन, वडा नं ६ लाई सुन्तलाको पकेट क्षेत्र, वडा नं ७ लाई खेलकूद र वडा नं ८ लाई हाते कागज तथा स्तुपाको पहिचानका रुपमा स्थापित गर्ने भएको छ । वडाहरुले आधारभूत आवश्यकतासँगै गाउँपालिकाले स्थापना गर्न खोजेको पहिचानलाई समेत ध्यानमा राखेर विकास गर्नका लागि यस्तो योजना ल्याएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिम विश्वकर्माले बताए । विश्वकर्माले गाउँपालिकाले आगामी वर्षदेखि बजेट विनयोजन गर्दा पहिचानलाई प्रमुख प्राथमिकतामा राख्ने बताए ।

सबै वडामा सबैको विकास सम्भव नभएका कारण एक वडालाई एउटा क्षेत्रमा पहिचान स्थापित गर्दा गाउँपालिकालाई समृद्धि गाउँपालिकाका रुपमा विकास गर्न सकिने वडा नं ७ का वडाध्यक्ष प्रेम लामिछानेले बताए । सडक, खानेपानी, शिक्षा र स्वास्थ्य जस्ता आधारभूत आवश्यकतासँगै वर्गीकरण गरेको वडाको पहिचानलाई ध्यानमा राखेर अगाडि बढ्ने गाउँपालिकाको लक्ष्य रहेको छ । गाउँपालिकाको जुन वडामा जे सम्भावना छ त्यसैलाई अध्ययन गरी पहिचानका आधारमा स्थापित गर्नेगरी गाउँपालिका लागेको हो । पहिचान स्थापित भएको खण्डमा गाउँपालिमा पर्यटन, कृषि तथा अन्य क्षेत्रको विकासमा टेवा पुग्ने गाउँपालिकाको अपेक्षा छ ।