लुम्बिनी

बाँकेमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन

बाँके । चालीसौँ जिल्लाका रुपमा बाँकेमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा आएको छ । ‘तपाइँको स्वास्थ्य, हाम्रो अठोट’ भन्ने नारासहित सरकारले आधारभूत स्वास्थ्य सेवा सहज बनाउन नागरिक स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा आएको हो । बाँकेमा कार्यक्रमका लागि बाँकेमा ८१ जना दर्ता सहयोगी खटाइएको स्वास्थ्य बीमा बोर्डका जिल्ला दर्ता अधिकारी प्रकाश थपलियाले जानकारी दिए । उनले स्वास्थ्य बीमा परिचयपत्र बनाएर सेवा प्रारम्भ गरिएको बताए । प्रत्येक वडामार्फत नियुक्त गरिएका दर्ता सहयोगीहरुले घरदैलो गरेर सदस्यता दर्ता गर्नेछन् ।

विसं २०७२ चैत २५ गतेदेखि कैलालीबाट स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिएको हो । स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुन चाहने पाँच जना सदस्यसहितको परिवारले बीमा शुल्कबापत प्रत्येक वर्ष रु दुई हजार ५०० र अतिरिक्त सदस्यले रु ४२५ का दरले शुल्क बुझाउनुपर्ने व्यवस्था गरिएको छ । बीमा रकम तिर्न नसक्ने विपन्न वर्गको हकमा भने सरकारले नै बीमा रकमबापतको शुल्क तिरीदिने व्यवस्था गरेको छ । सरकारले अति विपन्न नागरिकलाई शतप्रतिशत, विपन्नलाई ७५ प्रतिशत तथा गरीबीको रेखामुनि रहेका नागरिकलाई ५० प्रतिशतका दरले बीमा रकमबापतको शुल्क तिरिदिने व्यवस्था छ । बोर्डले स्वास्थ्य बीमा कार्यक्रमबारे दर्ता सहयोगी, स्वास्थ्यकर्मीलगायतलाई अनुशिक्षण दिएर कार्यक्रम शुरु गरेको दर्ता अधिकारी थपलियाले बताए ।

स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत तोकिएको अस्पताल तथा स्वास्थ्य संस्थामा बहिरङ्ग सेवा, प्रयोगशाला, एक्स–रे, इलेक्ट्रो कार्डियोग्राफी, घाउ चिरफार, अल्ट्रासाउण्ड, इण्डोस्कोपी, कोलोनोस्कोपी, फिजियोथेरापी, अकुपञ्चर, प्रजनन स्वास्थ्य सेवा तथा बाल स्वास्थ्य सेवाको प्याकेजको सीमासम्म निःशुल्क उपचार हुन्छ । मधुमेह, आँखा उपचार, अक्सिजन सेवा, प्रसूति, सर्जिकल वार्ड, मेडिकल वार्ड, कन्सल्टेन्सी सेवा, औषधि, दन्त उपचार सेवा, स्वास्थ्य जोखिम परीक्षण, क्यान्सर, मुटुरोग, मिर्गौला, स्पाइनल तथा हाड इञ्जुरी, सिकलसेल एनेमिया, पार्किन्सन, दम, अल्जाइमर तथा डिमेन्सिया रोगको पनि निःशुल्क उपचार हुने बताइएको छ ।