पत्रपत्रिका

किस्ट मेडिकल कलेजद्वारा तोकेभन्दा बढी शुल्क नतिर्ने विद्यार्थीलाई हाजिरमा रोक

काठमाडौँ । ललितपुरस्थित किस्ट मेडिकल कलेजले एमबीबीएस र बीडीएस अध्ययनरत विद्यार्थीसँग बढी शुल्क उठाउने गरेको छ  । सरकार र विश्वविद्यालयले तोकेभन्दा बढी शुल्क नदिने विद्यार्थीलाई हाजिर गर्नसमेत रोकिएको छ  । कलेजले मन्त्रिपरिषद्बाट निर्धारितभन्दा लाखौं बढी शुल्क असुल्ने गरेको विद्यार्थीले बताएका छन् । अवैध शुल्क नदिनेलाई परिचयपत्र, लगबुक, लाइबेरी कार्ड नबनाइदिने र हाजिरी गर्न नदिने गरेको उनीहरूको गुनासो छ । शिक्षा मन्त्रालयको निःशुल्क छात्रवृत्ति कोटामा भर्ना हुन गएका विद्यार्थीसँग समेत मनोमानी शुल्क मागिएको छ ।

कलेजका शैक्षिक संयोजक किशोरसिंह बस्नेतले अतिरिक्त रकम नतिर्ने विद्यार्थीलाई हाजिर नगराउने चेतावनी दिने गरेको विद्यार्थी बताउँछन् । स्रोतले कान्तिपुरलाई उपलब्ध गराएको कागजातमा विद्यार्थीसँग कलेजले अवैध रूपमा शुल्क असुलेको देखिन्छ । सरकार र विश्वविद्यालयले तोकेको शुल्कलाई बेवास्ता गर्दै कलेजले विद्यार्थीपिच्छे भिन्नभिन्न रकम लिने गरेको छ । सरकारले काठमाडौं उपत्यकाभित्रको मेडिकल कलेजमा एमबीबीएस अध्ययन गर्न ३८ लाख ५० हजार र बीडीएसतर्फ १९ लाख ३२ हजार ६ सय १२ रुपैयाँ शुल्क तोकेको छ । कलेजले भने रजिस्ट्रेसन, वार्षिकरआन्तरिक परीक्षा, स्वास्थ्य बिमा, इन्टर्नसिप र फिल्ड भिजिटका नाममा लाखौं रुपैयाँ लिँदै आएको छ । मन्त्रालयको निःशुल्क छात्रवृत्ति कोटामा अध्ययनरत विद्यार्थीसँग पनि ४ लाखका दरले रकम मागिएको छ । केही विद्यार्थीले पहिलो किस्तामा १ लाख ५० हजार भुक्तानी गरिसकेका छन् । भुक्तानी नगर्ने विद्यार्थीलाई हाजिर गर्न रोक लगाइएको छ ।

त्रिभुवन विश्वविद्यालयको चिकित्सा शिक्षाशास्त्र अध्ययन संस्थानले त्रिवि र मेडिकल काउन्सिल शुल्क ३ हजार ५ सय तोकेको छ, कलेजले ५० हजारका दरले लिइरहेको छ । वार्षिक परीक्षा शुल्क २ हजार ५ सय छ, कलेजले आन्तरिक परीक्षा शुल्क १८ हजारको दरले असुल्ने गरेको छ । शुल्क तिरेर पढ्ने र छात्रवृत्तिमा पढ्ने विद्यार्थीबाट एउटै शीर्षकमा फरक–फरक रकम लिइन्छ । स्वास्थ्य बिमा र भ्रमण भनेर ४५ हजार लिने गरिएको छ । किस्टको ब्याच २०१८ को एमबीबीएसमा ९० र बीडीएसमा ४० जना विद्यार्थी अध्ययनरत छन् । उनीहरूले बढी रकम लिएको विषयमा शिक्षा मन्त्रालयमा उजुरी दिएका हुन् । यसअघिको ब्याचसँग पनि कलेजले तोकेभन्दा बढी रकम लिने गरेको हो । ‘हामीले कुन शीर्षकमा पैसा तिर्ने हो भनेर माग्दा कलेजले खुलाउँदैन,’ एमबीबीएस अध्ययरत एक छात्राले भनिन्, ‘पैसा नतिरे हाजिर गराउँदैनन्, पछि हाजिर पुगेन भनेर परीक्षामा सहभागी नगराउने बताउँछन् ।’

निःशुल्क छाक्रवृत्तिमा अध्ययनरत विद्यार्थीसँग अतिरित्त पैसा लिएको पाइएको मन्त्रालयका सहसचिव हरि लम्सालले बताए । ‘विद्यार्थीले उजुरी दिएका छन्, कलेजलाई सचेत गराइएको छ,’ उनले भने, ‘कारबाहीका लागि जिल्ला प्रशासनमा उजुरी दिन विद्यार्थीलाई सल्लाह दिएका छौं ।’ बढी शुल्क लिने कलेजलाई सम्बन्धित जिल्ला प्रशासन कार्यालयले उजुरी लिएर कारबाही गर्नुपर्ने उनले बताए । उक्त कलेजमा ब्याच २०१८ मा छात्रवृत्ति कोटामा १२ जना विद्यार्थी अध्ययरत छन् । छात्रवृत्तिमा बीडीएस पढ्ने विद्यार्थीसँग पनि एमबीबीएसका विद्यार्थीसरह शुल्क लिने गरिएको छ ।

बढी शुल्क तिर्न बाध्य विद्यार्थीले शिक्षामन्त्री गिरिराजमणि पोखरेल र शिक्षासचिव खगराज बरालको सचिवालयमा समेत आफ्ना समस्या राखेका छन् । पटक–पटक कलेजले अतिरिक्त शुल्क लिएको प्रमाणसहित मौखिक उजुरी गर्दा पनि मन्त्रालयले चासो नदिएको विद्यार्थीको गुनासो छ । पोखराको गण्डकी मेडिकल कलेजले पनि विद्यार्थीसँग लाखौं असुलेको सार्वजनिक भएको छ । ३१ दिनदेखि विद्यार्थी आन्दोलनले कलेजको पठनपाठन ठप्प हुँदा नियमक निकायले छानबिन गरी कारबाहीमा चासो दिएका छैनन् । त्रिविले गण्डकी र किस्ट मेडिकल कलेजमाथि छानबिन भइरहेको जनाएको छ । कान्तिपुर दैनिक