समाचार

बाढीबाट जोगिन सामुदायिक आश्रय भवन निर्माण

राँझा । राप्ती नदीमा आउने बाढीका कारण हुने क्षति कम गर्न राप्तीसोनारी गाउँपालिका–३ बैजापुरमा सुरक्षित सामुदायिक आश्रय भवन निर्माण भएको छ ।बाढी प्रकोपको समयमा सर्वसाधारणलाई सुरक्षित राख्नका लागि सामुदायिक बहुउद्देश्यीय आश्रयस्थल निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष लाहुराम थारूले बताए ।

राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारूले बाढीबाट जोगिन उच्चस्थानमा निर्माण भएको सुरक्षित भवनले सबैलाई राहत हुने बताउँदै आगामी दिनमा राप्तीसोनारीमा दैवी प्रकोपजन्य घटना न्यूनीकरण गर्न गाउँपालिका लागिरहेको जानकारी दिए ।

रु ८४ लाख ९५ हजार ३२९ लागतमा बैजापुरको साइपुरमा आश्रय भवन निर्माण भएको हो । भवन निर्माण समितिका संयोजक एवं राप्तीसोनारी गाउँपालिका–३ का वडाध्यक्ष गङ्गाराम थारूले तराई भूपरिधि कार्यक्रमबाट रु ६३ लाख ३५ हजार ३९५, राप्तीसोनारी गाउँपालिकाको तर्फबाट रु १४ लाख र स्थानीय जनश्रमदानबाट रु तीन लाख ८९ हजार सहयोग भएको जानकारी दिए । स्थानीय वन तथ वातावरण समन्वय समितिका संयोजक तुलाराम खत्रीले विपत् जोखिम न्यूनीकरणका लागि समुदायस्तरमा आफूहरुको पहल जारी रहने बताए ।

राप्ती नदीमा आउने बाढीका कारण राप्तीसोनारी गाउँपालिकाका बैजापुर, विनौना, फत्तेपुर, कचनापुर क्षेत्रका गाउँ डुबान तथा कटानको जोखिममा रहेका छन् ।