खेलकुद

थ्री स्टारलाई आहा रारा गोल्डकपको उपाधि

कास्की । पोखरामा सञ्चालन भएको १७ औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि थ्री स्टारले क्लबले जितेको छ । सहारा क्लब पोखराको आयोजनामा यही फागुन ९ गतदेखि सञ्चालन भएको प्रतियोगिताको शनिबार भएको फाइनल खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ‘सडन डेथ’मा पराजित गरी थ्री स्टारले पाँचौँ पटक उपाधि जित्न सफल भयो ।

‘सडन डेथ’मा थ्री स्टारका मिक्चेन तामाङले गोल गर्दा आर्मीका विकास खवासको प्रहारलाई गोलकिपर एलन न्यौपानेले रोकपछि थ्री स्टारले उपाधि आफ्नो पोल्टामा पार्न सफल भयो । निर्धारित समयमा दुवै टिमबाट एक÷एक गोल भएको खेलमा थप गरिएको ३० मिनेटको समयमा पनि दुवै टिमबाट पुनः एक÷एक गोल भएर खेल दुई÷दुईको बराबरी भएपछि पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।

थ्री स्टारका रञ्जीत धिमाल, रुपेश केसी, विक्रम लामा र अनन्त तामाङले पेनाल्टीमा गोल गर्दा सुशील राईको प्रहार बारमा लागेर फर्कियो । आर्मीका तर्फबाट भरत खवास, जर्जप्रिन्स कार्की, सन्तोष तामाङ र विवेक बस्नेतले गोल गरे । आर्मीका गोलकिपर विकेश कुथुको प्रहारलाई थ्री स्टारका गोलरक्षक एलन न्यौपानेले असफल बनाएका थिए ।

खेलमा आर्मीले दुईपटकसम्म अग्रता बनाएपनि जोगाउन नसक्दा आहा राराको उपाधि चुमेर इतिहास बनाउने अवसरको सदुपयोग गर्न असफल भयो । प्रतियोगितामा हालसम्म चारपटक फाइनल खेलेको आर्मीले अहिलेसम्म उपाधि जित्न सकेको छैन ।

पहिलो हापको पाँचौँ मिनेटमा आर्मीले टेकबहादुर बुढाथोकीको गोलबाट अग्रता लिएपनि पहिलो हापको इन्जुरी समयमा थ्री स्टारले पेनाल्टीमार्फत बराबरी ग¥यो । आर्मीका दीपक गुरुङले पेनाल्टी एरियामा हातले बल छोएपछि रेफ्री सुदीश पाण्डेले थ्री स्टारलाई पेनाल्टीको मौका दिए ।

निर्धारित समयमा दुवै टिमबाट एक÷एक गोलको बराबरी भएपछि थप गरिएको ३० मिनेटको १५औँ मिनेटमा आर्मीले विमल पाण्डेको गोलबाट अग्रता बनाएपनि २२औँ मिनेटमा थ्री स्टारका पिटर सेगुनले गोल गरेर खेल बराबरीमा ल्याए ।

अतिरिक्त समयको १८औँ मिनेटमा थ्री स्टारका सुनील बल विपक्षी खेलाडीलाई दुव्र्यबहार गरेपछि रातो कार्ड पाउँदै मैदान बाहिरिए भने आर्मीका आशिष शाक्यको नाम खेल्ने खेलाडीको लिष्टमा नभएपनि मैदान प्रवेश गरेपछि उनलाई २०औँ मिनेटमा मैदानबाहिर पठाइएपछि दुवै टिम १०÷१० जना खेलाडीमा सिमित भए ।

पेनाल्टी र सडन डेथमा आर्मीका दुई प्रहार रोकेका थ्री स्टारका गोलकिपर एलन न्यौपाने फाइनल खेलको ‘म्यान अफ दी म्याच’ बन्दै नगद रु १० हजार तथा ट्रफी पाए । प्रतियोगिताको उपाधि विजेता थ्री स्टारले रु आठ लाख एक हजार, मेडल र प्रमाणपत्र तथा उपविजेताले आर्मीले रु चार लाख एक हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको उपाधि थ्री स्टारका गोलकिपर एलन न्यौपानेले प्राप्त गरी एक थान अप्रिला स्कुटर पाए । प्रतियोगितामा तीन गोल गरेका थ्री स्टारका अनिल गुरुङ सर्वाधिक गोलकर्ताको उपाधिसहित नगद रु २५ हजार प्राप्त गरे ।

उत्कृष्ट डिफेन्डर आर्मीका विमल पाण्डे, मिडफिल्डर आर्मीकै सन्तोष तामाङ, गोलकिपर थ्री स्टारका एलन न्यौपाने, स्टाइकर आर्मीका नवयुग श्रेष्ठ तथा उत्कृष्ट प्रशिक्षक थ्री स्टारका मेघराज केसीले प्राप्त गर्दै जनही रु १५ हजार, ट्रफी तथा प्रमाणपत्र प्राप्त गरे ।

विजेता तथा उपविजेता टिम तथा विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई राष्ट्रिय खेलकूद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष कर्माछिरिङ शेर्षा, मुख्य प्रायोजक हिमश्री फुड्सका प्रकाश केसीलगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।