बाग्मती

चर्चित बन्दै हाते सिर्जना

काठमाडौँ । काठमाडौँ ठैटीकी की २० वर्षीया कृतिका पोद्धार पुनः प्रयोगमा नआउने कागजको प्रयोगबाट निर्मित हाते कलाकृतिमा चर्चित बन्दै गएकी छिन् । घरमा रहेको पुनः प्रयोग गर्न नसकिने कागजी वस्तु, चुडिएका चङ्गाका टुक्रा सङ्कलन गरी उनले आकर्षक कलाकृति, विश्व चर्तित स्थानको आकृति, मायाको चिनो बनाएर आर्थिक आम्दानीसमेत गर्न थालेकी छिन् ।

युट्युबमा हेरेर उनले त्यस्ता कलाकृति बनाउँदै आएकी छिन् । उनले आफूले बनाएको कलाकृतिहरु सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने र मन परेकाहरुले अनलाइनमार्फत उनलाई म्यासेज गरेर उक्त कलाकृति खरीद गर्ने गरेको कृतिकाले बताइन् ।

साएम्स कलेज पुरानो बानेश्वरको बिबिए तेस्रो सेमेस्टरमा अध्ययनरत कृतिकाले पछि गएर यसलाई व्यावसायिक रूपमा अगाडि बढाउने लक्ष्य राखेको बताइन् । “मेरो लक्ष्य पढाइ पूरा गरेपछि कलाकृति बनाउने र यसलाई व्यावसायिक ढङ्गले अघि बढाउने रहेको छ ।”

आजकाल नेपाली युवायुवती बढीजसो समय सामाजिक सञ्जालमै व्यतित हुने गरेको सन्दर्भमा उनले यस्तै सामाजिक सञ्जालको प्रयोगमार्फत राम्रो आम्दानी गर्दै आइरहेकी छिन् । अहिले आफ्नो कलामार्फत आफूले राम्रो आम्दानी गर्ने गरेको छु”, उनले भनिन् ।

विभिन्न ऐतिहासिक कलाकृतिलाई हेरेर हुबहु उतार्ने उनको क्षमता छ । उनले आफूले बनाएका कलाकृतिलाई सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेपछि मनपर्नेले अनलाइनमार्फन अर्डर गर्ने गरेको उनको भनाइ छ । उनले बनाएका मध्ये फ्रान्सको आइफेल टावर र प्रेमिल पोष्टकार्ड बढी बिक्री भएको बताइन् । पर्यटकको मन खिच्ने गरी सिर्जना गरेको हाते कलालाई पनि प्रोत्साहनस्वरुप अगाडि बढाउन सके यस्तो कलाले पनि रोजगारी सिर्जना गर्न सकिने उनको दाबी छ ।