आर्थिक

व्यवसायमा निरास हुनुपर्ने स्थिति छैन ,के गर्नुपर्छ सरकार तयार छ – अथमन्त्री खतिवडा

काठमाडौँ । अर्थमन्त्री डा युवराज खतिवडाले उद्योग व्यवसायमा निरास हुनुपर्ने स्थिति नरहेको बताए। उद्योग व्यवसाय विकासमा सरकारको पनि ध्यान गएको र व्यवसायीसमेत उत्साहित हुँदै आएकाले समृद्ध राष्ट्र निर्माणका लागि समस्यामा हातेमालो गर्न सरकार तयार रहेको उनले उल्लेख गरे ।

काठमाडौँमा नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यात सङ्घको दशौंँ वार्षिक साधारणसभालाई शुक्रबार साँझ सम्बोधन गर्दै मन्त्री खतिवडाले भने, “उद्योग क्षेत्रमा निरास हुनुपर्ने अवस्था छैन, हाम्रो आँट र विश्वासलाई मर्न दिनुहुन्न, के गर्नुपर्छ सरकार गर्न तयार छ ।”

ऊनी उद्योगको विषयमा बोल्दै मन्त्री खतिवडाले सरकारी फार्ममा भेडा, च्याङ्ग्रा पालेर उद्योग सञ्चालन गर्न इच्छुक व्यवसायीलाई सरकारले सहयोग गर्नेसमेत प्रतिबद्धता जनाए। ज्याला बढ्दै गएको तर उत्पादकत्व नबढेको विषयमा भने आफ्ना कमीकमजोरीबारे व्यवसायीले अन्वेषण गर्नुपर्ने आवश्यकता रहेको अर्थमन्त्रीले औँल्याउए ।

उनले विसं २०६६ मा कृषि क्षेत्रमा बैंकको लगानी एक प्रतिशत रहेकामा अहिले आठ प्रतिशत पुग्नु महत्वपूर्ण उपलब्धि भएको बताए । कार्यक्रममा नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यात सङ्घले वार्षिक रु एक अर्ब ५० करोडको ऊनी फेल्टका सामाग्री निर्यात गर्दै आएको जानकारी दिएको छ ।