लुम्बिनी

विवाहमा लाग्ने खर्चवापतको रकमबाट विद्यालयमा अक्षयकोष स्थापनाका

बेझाड । छोराको विवाहमा लाग्ने खर्चवापतको रकमबाट पाल्पा रामपुरका एक परिवारले विद्यालयमा अक्षयकोष स्थापनाका लागि सहयोग गरेका छन् ।

रामपुर नगरपालिका–३ रजघरा बस्ने टङ्कनाथ घिमिरेको परिवारले छोरा पुरुषोत्तम घिमिरेको विवाहमा लाग्ने खर्च कटाएर जनविकास माध्यमिक विद्यालयमा रु एक लाख ११ हजार १११ को अक्षयकोष खडा गरिदिएका छन् । “विवाहमा हुनेले खर्च गर्छ, नहुनेले ऋण काढेर भए पनि धुमधामका साथ खर्च गर्नुपर्ने स्थिति सिर्जना हुन थालेपछि छोराको विवाहको भोजभतेरमा लाग्ने खर्च शैक्षिक क्षेत्रमा सहयोग गरिदिएका हौँ”, घिमिरेले भने ।

सो रकम विद्यालयमा पठनपाठन गर्ने गरीब, विपन्न, दलित परिवारका बालबालिकाको पढाइमा सहयोग पुगोस् भन्ने उद्देश्यले अक्षयकोष खडा गरेको घिमिरे परिवारले जनाएको छ । घिमिरे परिवारले गरेको उदाहरणीय काय अरुका लागि पनि प्रेरणादायी भएको विद्यालयका प्रधानाध्यापक हरिप्रसाद घिमिरेले बताए ।