समाचार

वाइडबडी भ्रष्टाचारमा रविन्द्र अधिकारी सत् प्रतिशत निर्दोषः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वाइडबडी खरिद प्रक्रियामा रविन्द्र अधिकारी निर्दोष रहेको बताएका छन् । हेलिकप्टर दुर्घटनामा निधन भएका संसदीय दलका सदस्य रविन्द्र अधिकारीको शोक प्रस्ताव पारित गर्न बसेको नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को शुक्रबार भएको संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले सो कुरा बताएका छन् ।

प्रधानमन्त्री ओलीले अधिकारीसँग सरोकार नै नभएको वाइडबडीको बिषय जोडेर केही तत्वले वहाँको बद्नाम गर्न खोजको बताएका छन् । “यतिबेला अरु धेरै कुरा त केही भन्न चाहन्न अत्यन्तै अनुचित ढंगले वहाँको कुनै सरोकार नभएको बिषय वाइबडीको सन्दर्भमा जोडेर केही तत्वहरुले वहाँलाई बद्नाम गर्न खोजे जो सम्पूर्ण रुपमा निराधार कुरा हो” प्रधानमन्त्री ओलीले भने “ वहाँले कुनै लोभलालचका लागि होइन र वहाँले वाइडबडीमा आफूले केही गरेको पनि छैन त्यो वाइडबडी वहाँ मन्त्री हुनभन्दा पहिलेको कुरा हो । तर पनि नेपाल यस्तो देश भएको छ जहाँ सत्य उजागर हुन नदिन वा सत्य ढाकछोप गर्न वा असत्यको हल्ला चलाएर सत्यलाई ढाकछोप गर्ने त्यस्तो प्रवृति र रुची भएका मान्छेहरु छन् । त्यो धन्दा पनि चलिरहेको छ ।”

वाइडबडीका बारेमा रबिन्द्र अधिकारीलाई आरोप लगाउनु दुखद भएको भन्दै प्रधानमन्त्री ओलीले अगाडि भनेका छन् “मलाई दुख लाग्छ कि वहाँ जस्तो कर्मठ,क्रियाशिसल मानिसलाई अनुचित ढंगले ,त्यस प्रकारले आरोप लाञ्छनाहरु लगाउने र अपमान गर्ने कामहरु पनि भयो ।”

मन्त्री अधिकारीले नागरिक उडड्यनको क्षेत्रमा देखिने गरी असाधरण काम गर्नुभएको प्रधानमन्त्री ओलीको भनाइ छ । छ वटा विमास्थलमा रात्री उडान सञ्चालन गर्ने, धनगढी, बिराटनगर र चन्द्रगढी बिमानस्थलको काम अघि बढाउने कुरा अधिकारी कै सक्रियतामा भएको प्रधानमन्त्री ओलीले स्पष्ट पारेका छन् ।

तेह्रथुमको चुहानडांडामा विमानस्थल बनाउन उपयुक्त हुने प्राविधिक प्रतिवेदन आएपछि आफैंले हेरेर आउने भनेर वहाँ त्यस तर्फ जानु भएको प्रधानमन्त्री ओलीले बताए । प्रधानमन्त्री ओलीले भने “तेह्रथुमको चुहानडांडामा इन्जिनियरिङ सर्भे आदिबाट उपयुक्त ठाउँ छ, निर्माण गर्न सकिन्छ भन्ने रिर्पोट आइसकेपछि आफैं गएर हेर्ने र आफैंले हेरेपछि उपयुक्तता, अनुपयुक्तता छुट्याउने भनेर वहाँ जानुभएको थियो ।” ढिलोमा तीबर्ष भित्र सो ठाउँमा बिमानस्थल निर्माण गरिसक्ने मन्त्री अधिकारीको लक्ष्य रहेको प्रधानमन्त्री ओलीले बताए ।

मन्त्री अधिकारी विमानस्थलहरुको अध्ययन भ्रमणकै क्रममा हिजो बिहिबार जमर्नीको म्यूनिखमा जाने कार्यक्रम रहेको प्रधानमन्त्री ओलीले बताए । प्रधानमन्त्री ओलीले भने “हिजो वहाँ बर्लिन जर्मनीतर्फ उड्दै हुनुहुन्थ्यो । त्यहाँ जानुको अर्थ पनि थियो कि म्यूनिख एयरपोर्टसँग सिस्टर सम्बन्ध बनाउने, व्यवस्थित ढंगको एयरर्पोट ह्याण्डिलिङ बनाउने, वहाँहरुसँग सहकार्य गर्ने वहाँले योजना बनाउनु भएको थियो ।”

अधिकारीको निधनले पार्टी, सरकार र देशले एक कुशल नेता, मन्त्री र नागरिक गुमाएको प्रधानमन्त्री ओलीले बताए ।दुर्घनामा निधन भएका आङछिरिङ शेर्पा नेपालको पर्यटन क्षेत्रका एकजना हस्ती भएको प्रधानमन्त्री ओलीले बताए । यसैगरी उपसचिब युवराज दाहाल विकासलाई बिभिन्न कोणबाट बिश्लेषण गरेर योजना बनाउन सक्ने व्यक्ति भएको प्रधानमन्त्रीको भनाइ छ । निधन भएका अन्य व्यक्तिहरु प्नि आफनो आफनो क्षेत्रका दिग्गज भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

नेकपा संसदीय दलको आजको बैठकले दुर्घटनामा निधन भएकाहरुप्रति शोक प्रस्ताव पारित गरेको छ । यसैगरी बैठकले मृततका परिवारको लालनपालनका लागि सरकारको ध्यानाआकर्षण गराउने निर्णय समेत गरेको छ ।