आर्थिक

प्राविधिक शिक्षा सञ्चालन गर्न रु एक करोड ६५ लाख सहयोग सङ्कलन

गलकोट । बागलुङको ताराखोला गाउँपालिकामा–४ तारागाउँस्थित नेपाल माध्यामिक विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गर्न रु एक करोड ६५ लाख सहयोग सङ्कलन भएको छ । विद्यालयले ७ देखि १६ गतेसम्म सञ्चालन गरेको स्वर्ण महोत्सवमा सो रकम सङ्कलन भएको विद्यालयले जनाएको छ । विद्यालयले शिक्षाप्रेमी, उद्यमी, जिल्लाका सम्पूर्ण पालिका, विद्यालयका पूर्वविद्यार्थी, शिक्षक, विद्यालय व्यवस्थापन समितिलगायत सङ्घसंस्था तथा व्यक्तिबाट स्वेच्छिक रुपमा रकम सङ्कलन गरिएको विद्यालयका प्रधानाध्यापक थमप्रसाद रोकाले बताए ।

विद्यालयले सङ्कलन गरेको रु एक करोड ६५ लाखमध्ये रु एक करोड २९ लाख नगद तथा ३६ लाख बराबरको विद्यालयलाई भौतिक पूर्वाधार निर्माण गरिदिने बताए। सङ्कलन भएको रकमबाट अक्षयकोष निर्माण गरी त्यसको व्याजबाट प्राप्त रकमले कक्षा १२ सम्म निःशुल्क प्राविधिक शिक्षा सञ्चालन गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिवस खत्रीले बताए ।

महोत्सवको अवसरमा सबैभन्दा बढी सहयोग गर्नेमा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय उपाध्यक्ष तथा उद्यमी चन्द्र ढकाल रु पाँच लाख, फौजबहादुर चोखाल रु चार लाख ५० हजार र विष्णु शेरचनले रु दुई लाख ५० हजार सहयोग प्रदान गर्नुभएको महोत्सवका आर्थिक संयोजक नरबहादुर थापाले बताए ।

कक्षा १ देखि १२ सम्म सञ्चालित विद्यालयमा हाल ४९१ विद्यार्थी अध्ययनरत छन् । विद्यालयले कक्षा ११ र १२ मा शिक्षा र व्यवस्थापनका कक्षा सञ्चालन गरे पनि रोजगारमूलक शिक्षाको लागि प्राविधिक विषयको पठनपाठन एक वर्षभित्र शुरु गर्ने योजना विद्यालयको छ । शिक्षा मन्त्रालयबाट सम्बन्ध लिई कक्षा ११ र १२ मा कृषि तथा भेटेरेनरी विषयको कक्षा विद्यायलमा सञ्चालन गर्ने योजना बनाएको खत्रीले बताए ।

“कक्षा १२ पास भएका विद्यार्थी पनि लामो समय बेरोजगार भएर बस्नुपर्ने अवस्थाको अत्य गर्न प्राविधिक शिक्षा सञ्चालन गर्ने तयारीमा छौँ”, अध्यक्ष खत्रीले भने “अबको एक वर्षभित्र प्राविधिक शिक्षा सञ्चालनमा आउँछ ।” ताराखोला गाउँपालिका जिल्लाको दुर्गम गाउँपालिकामा पर्ने भएकाले विपन्न परिवारका विद्यार्थीले घरमै बसेर प्राविधिक शिक्षा लिने अवसर पाउनेछन् ।