समाचार

आर्थिक समृद्धिको लागी सहकारीलाई खम्बाका रुपमा स्थापित गर्नुपर्छ– मुख्यमन्त्री राई

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सहकारीलाई बलियो खम्बाको रुपमा स्थापित गरेमा मुलुकको आर्थिक समृद्धि हुने बताए ।

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालय र राष्ट्रिय सहकारी महासङ्घद्वारा संयुक्त रुपमा शुक्रबार आयोजित ‘सहकारी क्षेत्रको प्रवद्र्घनमा प्रदेश तथा स्थानीय तहको भूमिका’ विषयक दुईदिने प्रादेशिक गोष्ठीेको उद्घाटन गर्दै उनले प्रदेश सहकारी ऐन प्रदेशसभामा पेश भइसकेको र सहकारी मैत्री आउने विश्वास दिलाए ।

महासङ्घका अध्यक्ष तथा पूर्वमन्त्री केशवप्रसाद बडालले प्रदेशमा सहकारी अभियानले गति लिएको यसमार्फत ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय नारालाई सार्थक बनाउनुपर्ने विचार व्यक्त गरे । प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलले आगामी योजना बनाउन लागेको अवस्थामा गोष्ठीको निष्कर्ष मार्गदर्शन हुने बताए ।

प्रदेशसभा सदस्य जयराम यादव, सर्वध्वज साँवा, शेखरचन्द्र थापा र सावित्री रेग्मीले सहकारीमार्फत नेपालीको आर्थिक जीवनस्तर उठाउनुपर्नेमा जोड दिए । मन्त्रालयका सचिव हस्तबहादुर विष्टले सहकारी अभियानको प्रवद्र्धनका लागि मन्त्रालयले सहकारीमैत्री वातावरण सिर्जना गर्ने विश्वास दिलाए ।