राजनीति

एउटा असल र नैतिकवान विद्यार्थीले पूरै समाजलाई असल बनाउन सक्छः बरिष्ठ नेता नेपाल

ललितपुर । पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले शिक्षकले विद्यालयमा शिक्षाका साथसाथै देशभक्तिको भावना जगाउन आवश्यक भएको बताएका छन् ।

ललितपुर महालक्ष्मी नगरपालिका ज्यामिरकोटस्थित श्री विश्वामित्र गणेश माध्यमिक विद्यालयको ३७औँ वार्षिकोत्सवमा नेता नेपालले विद्यालयमा शिक्षकले शिक्षाका साथै उपयुक्त संस्कार बनाउन ध्यान दिनुपर्ने धारणा व्यक्त गरे । “एउटा विद्यार्थी सफल हुन घर, विद्यालय र समाज सबैको उत्तिकै भूमिका आवश्यक रहन्छ”, नेता नेपालले भने, “एउटा नैतिकवान र असल विद्यार्थीले एउटा गाउँ मात्र होइन पूरै समाजलाई समेत असल बनाउन सहयोग पु¥याउँछ ।”

महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठले विद्यार्थीको भविष्यलाई मध्यनजर गरी तीन विद्यालयमा प्राविधिक शिक्षाको शुभारम्भ गरेको बताए । श्रेष्ठले भने, “थप दुई विद्यालयमा प्राविधिक शिक्षाको शुभारम्भ गर्नेछौँ ।”