राजनीति

ओली सरकारले जथाभावी बोल्दै हिँड्यो तर एकथोपा पनि देश र जनताको काम गरेनः सभापति देउवा

भीमदत्तनगर । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रेस स्वतन्त्रताबिना प्रजातन्त्र बाँच्न नसक्ने बताएका छन् । आज कञ्चनपुरको भीमदत्तनगरमा नेपाल प्रेस युनियन कञ्चनपुर शाखाको पाँचौँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै सभापति देउवाले लोकतन्त्र र प्रेस एक अर्काका पूरक भएकाले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्न नहुने बताए ।

उनले सरकार प्रेस स्वतन्त्रताप्रति गम्भीर नभएको आरोप पनि लगाएका छन् । सुदूरपश्चिम प्रदेशको विकासका लागि सरकारले पर्याप्त बजेट नदिएको बताउँदै सभापति देउवाले महाकाली नदीमा चार लेनको पुल बनाउन सकिए सुदूरपश्चिमको मात्र नभई देशकै विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

नेकपा अध्यक्ष केपी ओली नेतृत्वको सरकारले लोकतन्त्रलाई सिध्याउन जथाभावी बोल्दै हिँडेको र एकथोपा पनि देश र जनताको काम नगरेको दाबी गरेका छन् ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य नारायणप्रकाश साउँदले अन्धकार र तानाशाहीका विरुद्ध पत्रकारहरु लडेको स्मरण गर्दै । उनले राजनीतिभन्दा माथि उठेर सञ्चार जगत सक्रिय हुनुपर्नेमा जोड दिए ।

अर्का केन्द्रीय सदस्य रमेश लेखकले शान्ति सुरक्षा कायम गर्न सरकार असफल भएको दाबी गर्दै लोकतन्त्रका मूल्य मान्यतालाई बेवास्ता गरिएकोे आरोप लगाए । सो अवसरमा सुदूरपश्चिमको पत्रकारिताको विकासमा योगदान पुर्याएका अग्रज पत्रकारहरुलाई सम्मान गरिएको थियो । यसैबीच सभापति देउवा बलात्कारपछि हत्या गरिएकी भीमदत्त नगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्तका परिवारलाई भेटेका छन् ।