अन्तर्राष्ट्रिय

अमेरिकाले पाँच वर्षभित्र अफगानिस्तानबाट सेना फिर्ता गर्ने

वासिङ्टन ।  संयुक्तराज्य अमेरिकाले आगामी तीनदेखि पाँच वर्षभित्रमा अफगानिस्तानमा तैनाथ आफ्ना सेना फिर्ता गर्ने एक अमेरिकी सञ्चार माध्यमले जनाएको छ

हाल करिब १४ हजारको सङ्ख्यामा रहेका अमेरिकी सेना आगामी महिनादेखि आधा घटाउने प्रक्रिया शुरु गरिने पनि अमेरिकी पत्रिका न्यूयोर्क टाइम्सले बताएको छ । उक्त पत्रिकाका अनुसार हाल अफगानिस्तानमा तैनाथ आठ हजार ६०० जना युरोपेली र अन्य अन्तर्राष्ट्रिय सेनाले तालिम लगायतमा अफगान सुरक्षाफौजलाई मद्दत गर्नेछन् ।

ती सैनिक फिर्ता गर्ने विषयमा नेटो संगठनमा पनि छलफल भएको बताइएको छ । हाल अमेरिकामा रहेका नेटोआबद्ध सैनिकले अफगानिस्तानको सेनालाई आवश्यक सल्लाह र सुझावका साथै तालिम दिने गरेका छन् । यी सैनिकले तालिबानका विरुद्ध सीमित हवाई आक्रमण बाहेक देशमा विभिन्न स्थानमा पुगेर सुरक्षा कारबाही गर्न छाडेका छन् ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रवक्ता कोन फल्कनरले अफगानिस्तानमा युद्धरत विद्रोही तालिबानसँग जारी वार्तामा  सहमति भइनसकेको पनि बताए ।

उनले अमेरिकाले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने विषयमा अमेरिका तयार रहेको र के कति मात्रामा अमेरिकी सैनिक फिर्ता गर्ने र के कस्ता शर्तमा फिर्ता गर्ने भन्ने बारेमा छलफलका लागि अमेरिका सधैँ खुला रहेको बताए ।

उता अफगानिस्तानका तालिबानी समूहसँग सोमबारदेखि नै कतारमा पाँचौं चरणको वार्ता शुरु भइसकेको छ । वार्तामा अफगानिस्तानका लागि अमेरिकी विशेषदूत जाल्मे खलिलजाद र तालिबानी प्रतिनिधिमण्डल सहभागी रहेका छन् । उक्त वार्ता बिहीबार स्थगन भएको र आन्तरिक विचारविमर्श पश्चात् शनिबारदेखि पुनः वार्ता हुनेछ ।