मनोरञ्जन

राष्ट्रिय खुला रनिङशिल्ड लोक दोहोरी प्रतियोगिता फागुन १९ देखि

रुपन्देही । पाँचौँ राष्ट्रिय खुला रनिङशिल्ड लोक दोहोरी प्रतियोगिता तथा सांंस्कृतिक महोत्सव बुटवलमा हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजना र रुपन्देही शाखाको सह आयोजनामा पहिलोपटक राजधानी बाहिर बुटवलमा प्रतियोगिता हुन लागेको हो ।

आयोजकले आज बुटवलमा पत्रकार सम्मेलन गरी फागुन १९ देखि २५ गतेसम्म बुटवल मण्डपमा हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएका छन् । प्रतियोगिताका लागि अहिलेसम्म ४८ समूहले नाम दर्ता गरेका छन् ।

महोत्सवमा १२० स्टलसमेत रहने छन् । प्रतियोगितामा पुरुष÷पुरुष वा महिला /महिलाले पनि दोहोरीमा भाग लिन सक्ने व्यवस्था गरिएको छ । महोत्सवमा प्रवेशको लागि विद्यार्थीलाई रु ३० र अन्यको लागि ५० को टिकट बनाइएको छ ।

एक हप्तासम्म सञ्चालन हुने कार्यक्रमको लागि रु ४९ लाख खर्च हुने र आम्दानी रु ५० लाखको हाराहारीमा हुने अनुमान गरिएको प्रतिष्ठानका अध्यक्ष दीपक गरौजाले बताए। कार्यक्रममा राष्ट्रिस्तरमै ख्याति कमाएका कलाकारका साथै स्थानीयस्तरका लोकदोहोरी कलाकारको जमघट हुने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय सल्लाहकार खिमबहादुर हमालले जानकारी दिए ।

प्रतियोगितामा प्रथम पुरस्कार रु दुई लाख, द्वितीय पुरस्कार रु एक लाख २० हजार, तृतीय पुरस्कार रु ७० हजार, सान्त्वना पुरस्कार रु ३५ हजार र उत्कृष्ट गायक र गायिकालाई रु १५÷१५ हजार पुरस्कारको व्यवस्था गरिएको छ ।