कर्णाली प्रदेश

शैक्षिक सत्र शुरु भएता पनि हिमपातका कारणले विद्यालय बन्द

हुम्ला । हिमाली जिल्ला हुम्लामा शैक्षिक सत्र शुरु भएता पनि हिमपातका कारणले विद्यालय खोलिएका छैनन् । हुम्लालगायत देशका अधिकांश हिमाली जिल्लामा फागुनबाट नयाँ शैक्षिक सत्र शुरु हुने गर्दछ । जिल्लामा भारी हिमपात भई विद्यालय परिसरसँगै झ्याल ढोकाभन्दा माथिसम्म हिउँ जमेपछि विद्यालय नखोलिएको जिल्ला शिक्षा समन्वय समितिका प्रमुख वर्षबहादुर फडेराले जानकारी दिए ।

सात वटा गाउँपालिका रहेको हुम्लामा छ वटा गाउँपालिकामा रहेका विद्यालयले विद्यार्थी भर्ना आह्वान गरेता पनि उत्तरी नाम्खा गाउँपालिकाले भने विद्यार्थी भर्नाको आह्वान नगरेको सोही गाउँपालिकास्थित मोतिराम प्राथमिक विद्यालयका शिक्षक पासाङ लामाले बताए ।

नाम्खा गाउँपालिका जिल्लाको उच्च हिमाली गाउँपालिका हो । त्यस क्षेत्रमा गएका वर्षभन्दा यो वर्ष भारी हिमपात भएकाले विद्यालय बन्द रहेका छन् । बाक्लो हिउँका कारण विद्यालयसम्म पुगेर भर्ना कार्य खुला गर्न कुरा त परै जाओस् घर बाहिर निस्कनसमेत समस्या भएको शिक्षक लामाले बताए ।

हाल नाम्खा गाउँपालिकामा स्थापित प्राथमिक विद्यालयदेखि माध्यमिक विद्यालयसम्मका अधिकांश शिक्षक उक्त गाउँपालिकाभन्दा बाहिरका भएकाले पचास दिनको बिदा गएका शिक्षक विद्यालयसम्म पुग्न नसकेको पनि पाइएको छ ।

जिल्लाको उच्च हिमाली क्षेत्रमा रहेका साविक लिमी गाउँ विकास समिति हालको नाम्खा गाउँपालिकाका तीन वटा गाउँ तिल, जाँग र हल्जिस्थित विद्यालय जाने बाटो हिमपातका कारण अवरुद्ध भएपछि शिक्षक कार्यस्थलसम्म पुग्न सकेको छैन । लिमी जानका लागि न्यालु र नारा लेक भएर जानुपर्ने तर उक्त लेकमा करीब छ फिट हिउँ जमेपछि शिक्षकसँगै गाउँपालिका कर्मचारी पनि कार्यस्थलसम्म पुग्न नसकिएको लामाले बताए।

जिल्लामा पुन हिमपात नभए यही फागुन २० गतेबाट भर्नाको आह्वान गरिने र चैत १ गतेबाट विद्यालयमा पठनपाठन कार्य शुरु गरिने शिक्षक लामाले बताए ।