गण्डकी प्रदेश

कृषि फार्म सञ्चालनमा

बागलुङ । बागलुङ नगरपालिका–३ रातमाटामा ‘सापकोटा कृषि फार्म’आएको छ । अगुवा किसान वैकुण्ठ सापकोटाले व्यावसायिक बाख्रा, कुखुरापालन र तरकारी खेती गर्न सो फार्म शुरु गर्नुभएको हो । “फार्ममा २६ बाख्रा र ४०० कुखुरा छन्”, ४४ वर्षीय सापकोटाले भने । बाख्रा जमुनापारि तथा खरी ‘क्रस’ र कुखुरा स्थानीय जातका छन् । यस्तै करीब तीन रोपनी क्षेत्रफल जमीनमा तरकारी खेती गरिएको छ ।

पढाइमा स्नातक सापकोटाको तरकारी खेती भने पुरानै हो । “नयाँ सीप र प्रविधिअनुसार तरकारी खेती शुरु गर्दैछु”, उनले भने, “तीन हाइटेक टनेल बन्दैछ ।” फार्ममा रु तीन लाखभन्दा बढी खर्च भएको सापकोटाले बताए । शुरुमा तीन बाख्राबाट शुरु गरेकामा अहिले बढेर २६ पुगेका हुन् । दश बोका–बाख्रा बिक्री भइसकेका छन् । फार्म शुरु गरिएकोे छोटो समयमै बाख्रा बेचेर रु एक लाखभन्दा बढी आम्दानी भएको उनको भनाइ थियो ।

सापकोटालाई कृषि पेशामा श्रीमती जमुना, आमा लक्ष्मी र बुबा बद्रीले पनि सघाउँदै आउनुभएको छ । “उहाँ पहिलेदेखि नै कृषिमा तल्लिन हुनुहुन्छ”, श्रीमती जमुनाले भनिन्, “घरपरिवारको पनि उत्तिकै साथ छ ।” कृषिबाटै परिवारलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित व्यावसायिक कृषिमा लागेको बैकुण्ठको भनाइ थियो ।