सुदूरपश्चिम

पुरुषकै दबाब र करकापमा परी महिला गर्नपतन गराउन बाध्य

डोटी । जिल्लामा सुरक्षितरूपमा गर्भपतन गराउन जनचेतना अभिवृद्धि गर्न सरोकारवाला निकायले जोड दिएका छन् । आइपास नेपालको सहयोगमा जिल्ला समन्वय समिति डोटीले सिलगढीमा आयोजना गरेको परियोजना सल्लाहकार समितिको बैठकका सहभागीले सो कुरामा जोड दिएका हुन् ।

असुरक्षित गर्भपतनका कारण महिलाले नै जोखिम मोल्नुपर्ने अवस्था रहेको दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख मञ्जु मलासीले बताए । “गर्भपतन भन्ने बित्तिकै महिलाको सवाल हो, तर पुरुष पनि जिम्मेवार हुनुपर्छ”, उनले भने, “पुरुषको सहमति नहुँदा महिलाले स्वेच्छाले केही गर्न सक्दैनन्, पुरुषकै दबाब र करकापमा परी महिला गर्नपतन गराउन बाध्य छन् ।”

असुरक्षित गर्भपतनलाई सुरक्षित बनाउन र सकभर परिवार नियोजनका साधन प्रयोग गरी गर्नपतन गराउनु हँुदैन भन्ने सन्देश दिनु आवश्यक रहेको डोटीका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले बताए । उनले भने, “गर्भपतन गराउन पाइन्छ वा पाइँदैन भन्ने कुराको सबैलाई ज्ञान छैन, यो विषयमा सबैलाई ज्ञान हुन आवश्यक छ ।”

जिल्लामा निजी मेडिकलबाट गर्भपतन गराउने औषधि सहजै पाइने भएकाले त्यसको रोकथाम गरिनुपर्ने सहभागीको माग थियो । “औषधि खाँदा अरूले थाहा नपाउने, समय थोरै लाग्ने र सहजरूपमा पाइने भएकाले मेडिकलमा गई अवैधरूपमा गर्भपतन गराउनेको सङ्ख्या बढेको जिल्ला समन्वय समितिका संयोजक रामबहादुर ऐरले बताए ।

सुरक्षित गर्भपतनका लागि स्वास्थ्य संस्थाको दक्षता अभिवृद्धि तथा जनचेतनाका लागि कार्य गर्दै आएको जिल्लामा सञ्चालित सुरक्षित गर्भपतन सेवा कार्यक्रमका संयोजक दीपा सिंहले बताउए । जिल्ला अस्पताल डोटीका एमडीजिपी डा ग्रीस अवस्थीले असुरक्षितरूपमा औषधि खाइसकेपछि ज्यान जोखिममा परेका महिला पनि स्वास्थ्य संस्थामा गर्भपतन गराउन आउने गरेको बताउए । “पटक–पटक गर्भपतन गराउने पनि छन्”, उनले भने, “असुरक्षितरूपमा औषधि खाएर समस्या भएपछि अस्पताल आउने महिलाको सङ्ख्या बढी छ ।”

जिल्ला स्वास्थ्य कार्यालय डोटीको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा मात्र करीब एक हजार ८९ महिलाले स्वास्थ्य संस्थामा गर्भपतन गराएका छन् । जसमध्ये ३८३ ले जिल्ला अस्पतालबाटै गर्भपतन गराएका छन् ।