बाग्मती

सम्भावित जोखिमको क्षेत्र पहिचान गर्दै कामपा

काठमाडौँ । काठमाडौँ महानगरपािलकाले विपत्को सामना गर्न सहज होस् भन्ने उद्देश्यले आफ्नो क्षेत्रभित्र सम्भावित जोखिमको क्षेत्र पहिचान कार्य शुरु गरेको छ । कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले सम्भावित जोखिम आकलन गरेपछि आपत् सामना गर्न सहज हुने भएकाले यस किसिमको कार्य शुरु गरिएको बताए ।

“एक्लैले विपत् टार्न सकिँदैन, अझ प्राकृतिक विपत्तिको स्वरुप पूर्वनिर्धारित हुँदैन, त्यसैले समुदायमा हामी काठमाडौँमा जनधनको क्षति पु¥याउने विपत्तिका प्रकारका बारेमा जानकारी दिन्छौँ र सामना गर्ने क्षमता बढाउँछौँ”, प्रवक्ता डङ्गोलले भने ।

कामपाले नेपाल रेडक्रस सोसाइटीसँग मिलेर उक्त कार्यको शुरुआत गरेको हो । विपत्ति टार्न नसके पनि विपत्बाट हुनसक्ने धनजनको क्षति काम गर्न सबैभन्दा पहिले समुदायनै सबल रहनुपर्ने भएकाले कामपाले यस किसिमको कार्यको शुरुआत गरेको बताए ।

जोखिम नक्साङ्कनमा प्राकृतिक तथा मानव सिर्जित विपत्तिका दृष्टिमा सबैभन्दा बढी जनधनको क्षति भएको र हुनसक्ने स्थानको पहिचान हुनेछ । यसरी पहिचान गरिएका स्थानमा हुनसक्ने क्षति कम गराउन समुदायलाई तत्पर बनाउने, उनीहरुलाई आवश्यक पर्ने स्रोतसाधनको जोहो गर्नेलगायतका काम हुनेछन् । यी आपत्का अवस्था थाहा पाउन यसअघिका घटना, अहिलेको अवस्था र सम्भावनालाई आधार बनाइनेछ ।

कामपामा हुनसक्ने विपत्को बारेमा जानकारी दिन र विपत्कोे सामना गर्न कामपाले ३२ वटै वडामा वडाध्यक्ष, सदस्य र स्वास्थ्य स्वयंसेविकासहितको समितिसमेत गठन गरिसकेको छ । उक्त समितिकै अगुवाइमा वडास्तरीय विपत् व्यवस्थापन तथा नागरिक सुरक्षा समितिको अगुवाइ हुनेछ । यस किसमिको नक्साङ्कन कार्यका लागि कामपा वडा नं २५ का अध्यक्ष नीलकाजी शाक्यको संयोजकत्वमा समिति गठन गरिएको छ ।