अन्तर्राष्ट्रिय

लिबियामा रहँदै आएको तनाव र अस्थिरताको स्थितिलाई निर्वाचनमार्फत अन्त्य गर्न सहमति–राष्ट्र सङ्घ

त्रिपोली । अन्तराष्ट्रिय समुदायबाट मान्यता प्राप्त लिबियाली सरकार र प्रतिस्पर्धी शक्तिशाली सैनिक नेता खालिफा हफ्तरबीच बर्षौँदेखि लिबियामा रहँदै आएको तनाव र अस्थिरताको स्थितिलाई निर्वाचनमार्फत अन्त्य गर्न सहमति बनेको संयुक्त राष्ट्र सङ्घले बिहीबार बताएको छ । संयुक्त राष्ट्रसंघको लिबियाका लागि खटिएको नियोग ९यूएन्एसएमआइएल० ले ट्वीट गरेको छ, “संयुक्त सरकारका नेता फायज अल–साराज र हफ्तरबीच बुधबार संयुक्त अरब इमिरेट्सको राजधानी अबु धाबीमा भेटवार्ता भएको छ । वार्तामा उनीहरूले देशको राजनीतिक सङ्क्रमणकाललाई अन्त्य गरी देशमा स्थिरता कायम गर्ने बिषयमा छलफल भई आम निर्वाचनमार्फत यसलाई अन्त्य गर्ने सहमति भएको छ ।”

उत्तर अफ्रिकी मुलुक लिबियामा सन् २०११ मा आन्दोलनलाई उत्तर एटलान्टिक सन्धि संगठन ९नेटो० सैनिक गठबन्धनको सहयोगमा तत्कालिन तानाशाह मोहमर गद्दाफीलाई पदच्युत गरेपछि मारिएको थियो ।
त्यसपछि अन्तर्राष्ट्रिय समुदायद्वारा मान्यता प्राप्त संयुक्त सरकार प्रमुखले राष्ट्रिय सहमतिको सरकारको नेतृत्व गरेको थियो । राजधानी त्रिपोलीबाट प्रशासन चलाएका अल–साराजको त्रिपोली र वरपरका क्षेत्रमा प्रभाव थियो भने हफ्तरले आफ्नै नेतृत्वमा रहेका पूर्व सैनिकको बलमा लिबियाली नेशनल आर्मी गठन गरी देशको पूर्वी क्षेत्रमा पकड जमाएका थिए ।
दुबै नेताले पेरिसको समन्वयमा सन् २०१८ को मे मा राष्ट्रिय निर्वाचन गर्ने सहमति भएपनि त्यसपछि विकशित राजनीतिक तथा भौगोलिक सीमा विवादका कारण निर्वाचन कहिले गर्ने सहमति बन्न सकेको थिएन । निर्वाचन सन् २०१९ को अन्त्यसम्ममा गर्ने सहमति पनि भएको बताइएको छ ।