खेलकुद

एन्फा र चिनियाँ फुटबल सङ्घबीच सहकार्यको लागी चार वर्षे सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाली फुटबलको विकासका लागि अखिल नेपाल फुटबल सङ्घ ‘एन्फा’ र चिनियाँ फुटबल सङ्घबीच सहकार्य हुने भएको छ । नेपाल भ्रमणमा रहेका चिनियाँ फुटबल सङ्घ र एन्फाबीच यससम्बन्धी सम्झौतापत्रमा बिहीबार आयोजित कार्यक्रममा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा चिनियाँ फुटबल सङ्घका अध्यक्ष डु चाउछाई र एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाबीच चार वर्षे सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतामा दुवै देशको राष्ट्रिय टोलीको आदानप्रदान, पूर्वाधार विकासमा सहकार्य र प्राविधिक विकासमा चीनले नेपाललाई सहयोग गर्ने उल्लेख छ । त्यसैगरी दुईदेशबीच मैत्रीपूर्ण खेल खेलाइने सम्झौतामा उल्लेख छ ।

सम्झौतापत्रमा हस्ताक्षरपछि एन्फा अध्यक्ष शेर्पाले दुई छिमेकीबीचको सहकार्य नेपाली फुटबल विकासका लागि कोशेढुङ्गा सावित हुने बताए । अध्यक्ष शेर्पाका अनुसार अब नेपालमा हुने प्रतियोगितामा चीनको प्रान्तिय र तेस्रो डिभिजनका क्लबले सहभागिता जनाउने छन् । “पूर्वाधार विकासमा चीनले गर्न सक्ने सहयोगका क्षेत्र पहिचान गरी हामी निकट भविष्यमै चीनको भ्रमण गर्ने र त्यसमा विस्तृत कार्ययोजना समेत लैजान्छौँ, आजको सम्झौता भनेको पहिलो चरणको हो”, उनले भने ।

चिनियाँ फुटबल सङ्घका अध्यक्ष डु चाउछाइले नेपाल र चीनबीच फुटबलको विकासमा बिहीबार भएको सम्झौता रणनीतिक साझेदारी भएको बताए। नेपाल र चीनबीच सदियौँदेखि सांस्कृतिक तथा दौत्य सम्बन्ध रहेको उल्लेख गर्दै उनले सम्झौताले दुई मुलुकको राष्ट्रिय फुटबल टोलीबीच राम्रो सम्बन्ध बनाउन आधार तयार भएको बताए । “नेपालबाट तिब्बत नजिक छ, हामी तिब्बतसँग जोडिएर फुटबलमा धेरै काम गर्न सक्छौँ,” उनले भने । फुटबल विकासमा सहकार्य गर्न अध्यक्षसहितको तीन सदस्यीय चिनियाँ टोली बिहीबार नेपाल आएको हो ।