साहित्य

सङ्ग्रहालयका ठूला सामग्री आगन्तुकले हेर्न पाएनन्

ललितपुर । पाटन सङ्ग्रहालय केशवनारायण चोकबाट अन्यत्र सारेपछि यहाँका ठूला सामग्री आगन्तुकले हेर्न पाएका छैनन् । पाटन सङ्ग्रहालय रहेको केशवनारायण चोक २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनेको थियो । यहाँ अहिले प्रबलीकरण भइरहेकाले सङ्ग्रहालय अस्थायी रुपमा दरबार क्षेत्रकै अर्को भवनमा सारिएको सङ्ग्रहालयले बताएको छ । सङ्ग्रहालयको प्रबलीकरणका क्रममा धेरै ठूला सामग्री एक ठाउँबाट अर्को ठाउँमा सार्न नमिल्दा पहिलेको सङ्ग्रहालयमा नै छाडिएको सङ्ग्रहालयका कार्यकारी निर्देशक सन्दीप खनालले बताए ।

उनका अनुसार सङ्ग्रहालयका झण्डै २० प्रतिशत सामग्री राख्न सकिएको छैन । उमामहेश्वरको मूर्ति, चन्द्र, सूर्य र विष्णुका मूर्ति अस्थायी सङ्ग्रहालयमा नराखिएको सङ्ग्रहालयले जनाएको छ । उनले भने, “यहाँ आउनेका लागि महत्वपूर्ण भए पनि ती सामान सार्दा बिग्रन सक्ने डरले हामीले सारेका छैनौँ ।”

तीन वर्षपहिले देखि सङ्ग्रहालय मूलचोक र सुन्दरी चोकमा फैलिए पनि पहिले केशवनारायण चोकमा मात्रै सङ्ग्रहालय रहेको कार्यकारी निर्देशक खनालले बताए । केशवनारायण चोकमा प्राचीन समयमा सांस्कृतिक र घरायसी काममा प्रयोग हुने धातुका सामग्री र मूर्तिको सङ्ग्रह रहेको छ । उनले भने, “तीन चोकमा सङ्ग्रहालय फैलिए पनि फरकफरक खालका सामग्री रहेका छन् ।”

केशवनारायण चोकको उत्तरीखण्ड निर्माण भइरहँदा यहाँ रहेको सङ्ग्रहालय सारिएको हो । चोकको निर्माण यति नै समयमा सकिन्छ भन्ने टुङ्गो नभए पनि सकेसम्म छिटो सक्ने योजना रहेको सङ्ग्रहालयले जनाएको छ । मल्लकालीन दरबारलाई परम्परागत स्वरुपमै रहन दिन प्रबलीकरण भइरहेको हो ।