राजनीति

नेकपा सचिवालयः मन्त्री अधिकारीको निधनमा शोक प्रस्ताव पारित

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले नेकपाका केन्द्रीय सदस्य एवं संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको हेलिकप्टर दुर्घटनामा भएको निधनमा शोक प्रस्ताव पारित गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकले मृतक सबैप्रति श्रद्धाञ्जलि प्रकट गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको हो ।

बैठकले मन्त्री अधिकारीलगायत यति एयरलाइन्सका प्रबन्ध निर्देशक तथा स्थापित पर्यटन उद्यमी आङ्छिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक ध्रुवदास भोछिभया, प्रधानमन्त्रीे कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका चालक प्रभाकर केसी र मन्त्रीका अङ्गरक्षक नेपाली सेनाका जमदार अर्जुन घिमिरेप्रति श्रद्धाञ्जलि अर्पण गरेको छ ।

त्यस्तै पार्टीका सबै कार्यालयमा आज उहाँको सम्मानमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ । तीन दिनसम्म पार्टी कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय पनि भएको छ । पार्टी केन्द्रीय कार्यालयका तर्फबाट यही फागुन २३ गते केन्द्रीय श्रद्धाञ्जलि सभाको आयोजना गर्ने निर्णय गरिएको छ । बैठकले दुर्घटनामा परेर निधन हुनुभएका व्यक्तिको परिवारको आर्थिक स्थिति र आवश्यकतासमेत हेरेर उपयुक्त सहयोग गर्न सरकारलाई अनुरोध गर्ने निर्णयसमेत गरेको छ ।

शव परीक्षण गरिसकेपछि श्रद्धाञ्जलिका लागि स्थानीय टुँडिखेलमा राख्ने तयारी गरिएको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । त्यसलगत्तै अधिकारीको शव श्रद्धाञ्जलिका लागि कास्कीको पोखरा लगिनेछ । अन्य व्यक्तिको पार्थिव शरीर आआफ्नो परिवारले उपयुक्त ठानेका स्थानमा लगेर अन्तिम संस्कार गरिने जानकारी उनले दिए ।