गण्डकी प्रदेश

कालिका यातायातको सेवा शुरु

दमौली । गण्डकी प्रदेशको पहिलो यातायात कम्पनीको रुपमा दर्ता भएको पवित्र कालिका यातायात प्रालिले आजदेखि आफ्नो सेवा शुरु गरेको छ । तनहुँ व्यास नगरपालिका–१ गल्वुबेशी चोकमा प्रधान कार्यालय रहेको कम्पनीले पहिलो चरणमा २५ वटा अटो सञ्चालनमा ल्याएको प्रबन्ध निर्देशक हरिचन्द्र हड्खलेले बतार्ए ।

उहाँका अनुसार पहिलो चरणमा व्यास नगरपालिका क्षेत्रमा २५ अटो सञ्चालन गरिएको र त्यसपछि क्रमशः कालो प्लेटका बस र ट्रकहरु पनि सञ्चालन गरिनेछ । अटो सञ्चानलका लागि यातायात व्यवस्था कार्यालय गण्डकी, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय तनहुँलगायत सबै सरोकारवाला निकायसँग अनुमति लिइसकिएको प्रबन्ध निर्देशक हड्खलले जानकारी दिए ।

पृथ्वीराजमार्ग बाहेकका सबै क्षेत्रमा उक्त अटोले सेवा दिनेछ । अटोले पूर्वतर्फ छाब्दी बराह, उत्तरतर्फ कलेस्ती र दक्षिणतर्फ बेलवाससम्म सेवा दिनेछ भने पश्चिम क्षेत्रमा पृथ्वीराजमार्ग रहेको हुँदा त्यस क्षेत्रमा अटो सञ्चालन हुनेछैन । हड्खलेसहित दमौलीका तीन व्यवसायी मिलेर २०७४ साल माघ २९ गते कम्पनी रजिस्ट्रारको कार्यालयमा पवित्र यातायात कम्पनी प्रालि दर्ता गराएका थिए । कम्पनीमा व्यवसायी नवराज थापा र शमशेर राना संलग्न छन् । तीन जना युवा व्यवसायीले पहिलो चरणमा रु एक करोड २५ लाख लगानी गरेर सो सेवा सञ्चालनमा ल्याइएको हो ।

व्यास नगरपालिका क्षेत्रका भित्री बजारमा अन्य सवारीसाधनले कुनै सेवा नदिँदा यात्रु मर्कामा पर्दै आएका थिए । छाब्दी, आदिकवि भानुभक्त क्याम्पस, स्कूलटार क्षेत्र, भादगाउँ, तालघरे, गल्वुबेशी, डिहिगाउँ, कुमालटारी, बैरेनी, कलेस्तीलगायतका क्षेत्रमा अटोले सर्वसाधारणलाई सेवा दिने कम्पनीका सञ्चालक नवराज थापाले जानकारी दिए।