खेलकुद

बर्सातले आठौँ खेलकूदको पूर्वाधार निर्माणमा अवरोध

राँझा् । प्रतिकूल मौसमका कारण आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको भौतिक पूर्वाधार निर्माणमा अवरोध भएको छ । माघ र फागुन महीनामा पटक–पटक भएको बर्सातले लक्ष्यअनुसार निर्माणको काम हुन नसकेको मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समिति प्रदेश ५ का अध्यक्ष भीम वलीले बताए । नेपालगञ्जमा मङ्गलबार रातिदेखि बुधबार दिनभर वर्षा भएको थियो ।

बर्सातका कारण प्रतियोगिता आयोजनास्थल नेपालगञ्ज रङ्गशालाको निर्माणमा अवरोध भएको उनले बताए । “माघ महीनामा पटक–पटक गरी नौ दिनसम्म काम हुन सकेन, अहिले पनि पानीले समस्या गरेको छ,” अध्यक्ष वलीले भने, “बर्सातका कारण फिल्डको काममा अवरोध हुन पुगेको छ ।” आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितालाई लक्षित गरेर निर्माण भइरहेका अधिकांश भौतिक संरचनाको कार्य करीब सम्पन्न भए पनि नेपालगञ्ज रङ्गशाला र दाङको बेलझुण्डी रङ्गशालाको निर्माण कार्य अझै बाँकी रहेको उनको भनाइ छ ।

नेपालगञ्ज रङ्गशालामा दुबो रोप्ने र प्याराफिट निर्माण कार्य भइरहेको छ । फागुन मसान्तसम्म ९० प्रतिशत काम पूरा हुने अध्यक्ष वलीले दाबी गरे । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता २०७५ भित्रै सम्पन्न गर्ने गरी भौतिक पूर्वाधारको तयारीदेखि खेलाडी छनोट कार्यलाई तीव्र पारिएको पनि उनले बताए ।