प्रदेश 2

बालक बेपत्ता हुने क्रम वृद्धि

लहान । सिरहाको नवराजपुर–२ मझौराका ११ वर्षीय आशुतोषकुमार यादव फागुन १० गते बेपत्ता भए ।लिट्टिल स्टार बोर्डिङ स्कूलमा अध्ययनरत उनी बिहान ६ बजे ट्युसन पढ्न गएका र त्यसपछि अहिलेसम्म घर फिर्ता नआएको आशुतोषका काका शैलेन्द्रप्रसाद यादवले बताए । लहानबाट करीब एक महीनाअघि बेपत्ता भएका सप्तरीको बलानविहुल–२ घर निवासी सन्तोष साहका १४ वर्षीय छोरा लीलाकान्त साह अझै सम्पर्कमा आउन नसकेको उनको पारिवारिक स्रोतले जनाएको छ । लहानस्थित मनकामना सेकेन्डरी इङलिस बोर्डिङ स्कूलको होस्टेलमा बस्दै आएका लीलाकान्त होस्टेलबाट घर जाने क्रममा बेपत्ता भएको जनाइएको छ ।

होस्टेलमा बसेका लीलाकान्तलाई भेट्न गत माघ २७ गते सरस्वती पूजाका दिन उक्त बोर्डिङको होस्टेल पुग्दा त्यहाँका एक शिक्षिकाले तपाईंको छोरा यहाँ छैन, करीब सात—आठ दिनपहिले नै तपाईंको छोरा यहाँबाट निस्किएको हो भन्दै जवाफ दिएको बेपत्ता बालकका पिता सन्तोषले बताए । आफ्नो छोरा मनकामनाको होस्टेलबाट नै बेपत्ता भएको जिकिर गरे पनि उक्त बोर्डिङका सञ्चालक बद्रीनारायण चौधरीले लीलाकान्त होस्टेलबाट घर जानका लागि निस्किएको अवस्थामा बेपत्ता भएको हुनसक्ने जानकारी दिए ।

त्यस्तै सिरहाको सखुवानन्कारकट्टीका एकै परिवारका तीन बालक विगत एक सातादेखि बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता भएका एक बालकलाई काठमाडौँ विराटनगर चल्ने बसमा खलासीको काम गरिरहेको अवस्थामा फेला पारेर परिवारको जिम्मा लगाएको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेश थापाले बताए । यसरी विगत एक महीनाको अवधिमा लहान क्षेत्रबाट सात बालक बेपत्ता भएका छन् । विद्यालयको लापरवाही, अभिभावकको निगरानी अभाव, लैङ्गिक आत्मीयता, लागुऔषध सेवन गर्ने साथीसङ्गतको प्रभाव, घरायसी विवाद, अपराधिक क्रियाकलाप, भड्किलो लवाइखवाइका कारण बालकहरु बेपत्ता हुने क्रम बढे्को जानकारहरुले बताए ।

सानै उमेरमा आफू अनुकूलको काम गर्न नपाएको र घरपरिवार तथा शिक्षकहरुबाट अनुशासनमा राख्न प्रयत्न गर्न खोज्दा बालकहरु घर र विद्यालय छोडने क्रम बढे्को स्थानीयवासी ब्रह्मदेव साहको भनाइ थियो । बालकहरु घर छाडी अन्यत्र गएर आपराधिक क्रियाकलाप तथा लागुऔषध सेवनलगायत कार्यमा लाग्ने गरेकाले यस विषयमा अभिभावकहरु सचेत हुनुपर्ने उनको भनाइ छ । यता प्रहरी नायब उपरीक्षक थापाले बेपत्ता भएका बालकको खोजी कार्य भइरहेको बताए । बालकहरु बढी स्वतन्त्रता खोज्न घरपरिवारबाट टाढा बस्ने उद्देश्यले बेपत्ता हुने क्रम बढे्को भन्दै उनले यस्ता घटनालाई न्युनीकरण गर्न सीमाक्षेत्रका साथै बजार क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने ।