प्रदेश 1

पछिल्लो समयमा बन्दैछ दिक्तेलबजार थप व्यवस्थित

खोटाङ । फोहर, जथाभावी पार्किङ र सडक पेटीमा थुपारिएका निर्माण सामग्रीले अस्तव्यस्त देखिने दिक्तेल बजार पछिल्लो समय व्यवस्थित गर्न थालिएकोे छ । सिसी क्यामेरा जडान, फोहर व्यवस्थापनका लागि डस्टबिन, पार्किङको व्यवस्थाले अहिले उक्त बजार व्यवस्थित हुँदै आएको हो ।

बजारका विभिन्न ठाउँमा सिसी क्यामेरा जडान गरेपछि जथाभावी पार्किङ गर्ने, सडकमै निर्माण सामग्री राख्ने, घरको पेटी तथा सडकमै व्यापारिक सामग्री राख्नेजस्ता क्रियाकलाप अहिले हटेको छ । मुख्य–मुख्य चोकमा सिसी क्यामेरा जडान गरेपछि सार्वजनिकस्थलमै धुमपान तथा मादक पदार्थ सेवन गर्ने, अभद्र व्यवहार गर्ने, होहल्ला गर्दै हिँड्ने क्रियाकलाप नियन्त्रण भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक राजकुमार केसीले बताए ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्रको रूपमा रहेको उक्त बजारमा हुन सक्ने आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्ने उद्देश्यले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले १२ स्थानमा सिसी क्यामेरा जडान गरेको हो । बजार क्षेत्रमा हुने हरेक क्रियाकलाप सिसी क्यामेरामार्फत नगरपालिका र जिल्ला प्रहरी कार्यालयले निगरानी गर्ने व्यवस्था मिलाइएको छ ।

सिसी क्यामेरा जडानपछि नियम विपरीतको कार्य गर्ने उम्कने अवस्था न्युन रहेकाले बजारको सुरक्षामा समेत सघाउ पुगेको नगरप्रमुख दीपनारायण रिजालको बताए ।

सिसी क्यामेरा चौबिसै घण्टा सञ्चालन हुने भएकाले दिउँसो वा राति जुनसुकै समयमा भएका सबै गतिविधिका फुटेज रेकर्ड गरिने व्यवस्था मिलाइएको छ । सिसी क्यामेरा जडान गर्नुअघि दिक्तेल बजारमा दिउसै आपराधिक क्रियाकलाप हुँदा पनि दोषी पत्ता लगाउन गाह्रो हुने गरेको थियो ।

नगरपालिकालाई स्वच्छ, सफा, सुन्दर र व्यवस्थित बनाउने योजनासहित बजार क्षेत्रको विभिन्न ठाउँमा फोहर सङ्कलन गर्न डस्टबिनसमेत राखिएको छ । व्यक्तिगत घर, होटल तथा पसलबाट निस्कने फोहर जथाभावी फाल्दा दुर्गन्धित तथा अस्तव्यस्त हुने गरेकामा अहिले विभिन्न ठाउँमा कुहिने र नकुहिने फोहरलाई छुट्टाछुट्टै राख्न डस्टबिन राखिएको छ ।

पच्चिस स्थानमा राखिएका डस्टबिनको फोहर हरेक हप्ताको दुई पटक ट्र्याक्टरमा हालेर व्यवस्थापन केन्द्रमा पु¥याउने गरिएको छ । वडा नं ५ लफ्याङस्थित जङ्गलमा बनाइएको व्यवस्थापन केन्द्रमा फोहर प्रशोधन गर्ने योजना बनाइएको छ ।

फोहरलाई मोहरमा परिणत गर्ने उद्देश्यसहित प्रशोधन केन्द्रसमेत सञ्चालन गर्ने तयारी गरिएको नगर प्रमुख रिजालले बताए । “फोहर व्यवस्थापनका लागि नगर कार्यपालिकाले कार्यविधि नै बनाएर अघाडि बढेको छ,” उनले भने, “नगरभित्र अव्यवस्थित रहेको फोहरलाई व्यवस्थापन गर्दै प्रशोधन गरेर नगरपालिकाको आर्थिक वृद्धिमा टेवा पु¥याउन तयारी थालिएको छ ।”

निस्कने फोहर व्यवस्थापन केन्द्रसम्म पु¥याउन नगरपालिकाले नै ट्र्याक्टर खरीद गरेर सञ्चालनमा ल्याएको छ । लामो समयदेखि थुप्रिएको फोहर व्यवस्थापन गर्न नगरपालिकाले कर्मचारी नै नियुक्त गरेर प्रत्येक घरलाई सदस्यता वितरण गरेर कामलाई अगाडि बढाएको हो ।

डस्टबिन राखिएपछि स्थानीयवासीले आफ्नो घर तथा पसलबाट निस्किएको फोहर आफैँले लगेर डस्टबिनमा हाल्ने गरेका छन् । चेतना अभावमा जथाभावी फोहर फाल्दै आएका स्थानीयवासीलाई फोहर व्यवस्थापनसम्बन्धी तालीम तथा सचेतना गोष्ठीमा सहभागी गराएर सजग गराइएको छ ।

गोष्ठीमा सहभागीले नगरपालिकालाई स्वच्छ, सफा र सभ्य नगर बनाउन २३ बँुदे प्रतिबद्धतापत्रमा हस्ताक्षरसमेत गरेका छन् । नगरपालिकाले दिक्तेलमा गत पुस १८ गते फोहर व्यवस्थापनसम्बन्धी आयोजना गरेको अन्तरक्रिया गोष्ठीमा सहभागीले नगर प्रमुखको रोहवरमा प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका थिए ।

नगरपालिका र सरोकारवालाले गरेको निर्णय उल्लङ्घन गर्ने तथा अटेर गर्ने व्यक्तिलाई जनप्रतिनिधि लगायतले उचित कारवाहीका लागि नगरपालिकासमक्ष सिफारिश गर्नेजस्ता व्यहोरा प्रतिबद्धतापत्रमा उल्लेख छ ।

परम्परागत घर तथा साँघुरो सडक रहेको बजारका सडक आसपासमै पार्किङ गरिने यातायातलाई सम्बन्धित बस तथा जीप पार्कमा लगिने व्यवस्था मिलाइएको छ । ठूला सवारी साधनलाई सोल्मा तथा आचार्य गाउँमा निर्माण गरिएको बसपार्क तथा साना सवारी साधानलाई हाटडाँडामा रहेको जीप पार्कमा राख्न थालिएको छ । जिल्लाको पुरानो तथा प्रमुख व्यापारिक केन्द्र बनेको उक्त बजारको सार्वजनिक शौचालय सफा गर्ने उपकरणसमेत खरीद गरेर प्रयोगमा ल्याइएको छ ।