अन्तर्राष्ट्रिय

थाइल्याण्डमा हजारौ हवाई यात्रु अलपत्र

बैंकक । पाकिस्तानले हवाई उडानका लागि आफ्नो आकाश बन्द गरेसँगै थाई एयरलाइन्सका उडान रद्द हुँदा बिहीबार बैंककमा पाँच हजारभन्दा बढी यात्रु अलपत्र परेका छन् । भारत र पाकिस्तानबीच जारी तनाव बढ्दै गएपछि इस्लामाबादले सुरक्षाको कारण देखाउँदै आफ्नोे आकाश बन्द गरेको छ ।

एयरलाइन्सका अनुसार करिब ३० वटा उडान रद्द भएका छन् । प्रायः युरोपतर्फका उडान रद्द भएको एयरलाइन्सले जानकारी दिएको छ । उडान भरिसकेका तीन वटा जहाजलाई बैंककको सुवर्णभूमि विमानस्थलमै फर्काइएको थियो । पछिल्ला दिनमा पाकिस्तानले भारतीय वायुसेनाका दुईवटा सैनिक विमान आफ्नो हवाई क्षेत्रमा खसालेको दाबी गरेको थियो । यता भारतले आफ्नो वायुसेनाले पाकिस्तानको लडाकू विमान खसालेको दाबी गरेको छ । आक्रमण र प्रत्याक्रमणका कारण दुई देशबीच ठूलै युद्ध हुनसक्ने अनुमान गरिएको छ ।

यही फेब्रुअरीको १४ तारिखमा भारत प्रशासित काश्मिरमा भएको आत्मघाती हमलामा कम्तीमा ४० जना सशस्त्र प्रहरीको ज्यान गएपछि यी दुई छिमेकीबीच तनाव उत्पन्न भएको छ । सो आक्रमणमा भारतले पाकिस्तानी पक्षको हात रहेको बताएको छ तर पाकिस्तानले भने त्यो आरोपको खण्डन गर्दै आएको छ । बढ्दो तनाबका बीच पाकिस्तानका प्रधानमन्त्री इमरान खानले वार्ताबाटै समस्याको समाधान निकाल्न भारतसमक्ष आग्रह गरेका छन् ।