समाचार

प्रमुख जिसीद्वारा मन्त्री अधिकारीप्रति श्रद्धाञ्जलि व्यक्त

पोखरा । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले सङ्घीय सरकारका मन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सात जनाको बुधबार ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा भएको निधनले आफू मर्माहत भएको बताउनुभएको छ । जिसीले आज शोक विज्ञप्ति जारी गर्दै दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारीसँगै पर्यटन उद्यमी, राष्ट्रसेवक कर्मचारी र हेलिकप्टर चालकको निधनले मुलुकलाई ठूलो क्षति भएको उल्लेख गर्नुभएको छ ।

पोखरा–३३ (साबिक भरतपोखरी गाविस) मा जन्मेर विद्यार्थी आन्दोलनबाटै क्रियाशील राजनीतिकर्मीका रुपमा स्थापित अधिकारी विकासप्रेमी, भरोसायोग्य, दूरदर्शी र उज्ज्वल नक्षत्र रहनुभएको जिसीले स्मरण गर्नुभएको छ । उहाँले अधिकारीको निधनले मुलुकले देश र जनताप्रति अहोरात्र खटिरहने, शालीन, अध्ययनशील, प्रतिभावान्, मृदुभाषी, मिलनसार, साहसी र समृद्ध नेपालको खाका कोर्न सक्ने लोकप्रिय नेता गुमाएको व्यक्त गर्नुभएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यसमेत रहनुभएका अधिकारीलाई गुमाउँदा कम्युनिष्ट आन्दोलन र राष्ट्रिय राजनीतिमा अपूरणीय क्षति पुगेको उल्लेख गर्दै विज्ञप्तिमा विद्यार्थी जीवनदेखि देश र जनताप्रति समर्पित अधिकारीले गरेको सङ्घर्षले कम्युनिष्ट आन्दोलनमा होमिएका सबैलाई प्रेरणा दिनाका साथै उहाँको योगदानलाई पोखराले सधैँ स्मरण गरिरहने उल्लेख गरिएको छ । यस दुःखद घडीमा उहाँको आत्माको चिरशान्तिको कामनासहित श्रद्धाञ्जलि व्यक्त गर्दै जिसीले शोकाकूुुुल परिवार र आफन्तजनमा समवेदना पनि प्रकट गर्नुभएकोछ ।