बाग्मती

अन्तर्राष्ट्रिय प्रतिबद्धताबाट नेपाल विमुख छैन –परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौँ । नेपालले मानवअधिकार संरक्षण एवम् प्रवद्र्धनप्रतिको अन्तर्राष्ट्रिय प्रतिबद्धताबाट विमुख नभएको स्पष्ट गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार उच्चायुक्त मिचेल बेचेलेटसँग बुधबार जेनेभामा भएको भेटवार्तामा मानवाधिकार रक्षामा नेपाल दृढ रहेको बताए हो ।

सफलतापूर्वक टुङ्गिएको नेपालको शान्ति प्रक्रिया, लोकतान्त्रिक रुपान्तरण र त्यसपछिका कानूनी प्रक्रिया, समावेशी विकासबारे भेटवार्तामा मन्त्री ज्ञवालीले जानकारी गराएको संयुक्त राष्ट्रसङ्घका लागि जेनेभास्थित स्थायी नेपाली नियोगले जनाएको छ ।

द्वन्द्वपीडितका चासोको सम्बोधन, सत्य निरुपण तथा मेलमिलापसम्बन्धी बाँकी विषय, सर्वोच्च अदालतको आदेश, मेलमिलापसहित द्वन्द्व पीडितलाई समाजमा पुनःस्थापना गर्न सरकारले हरसम्भव प्रयास गरिरहेको उनले बताए ।

बुधबार नै परराष्ट्रमन्त्री ज्ञवालीले कोष्टारिकाका प्रथम उपराष्ट्रपति र म्यान्माका अन्तर्राष्ट्रिय सहायतामन्त्रीसँग पनि बेग्लाबेग्लै भेट गरी पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श गर्नुभएको थियो ।