बाग्मती

प्राकृतिक कारणले गैँडा मर्दै

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा सशस्त्र द्वन्द्वको समयमा एकै वर्षमा ३७ वटा गैँडा शिकारीले मारेका थिए । योसँगै संरक्षणका लागि सरकार र दातृ निकायले चासो दिएपछि झण्डै दुई वर्षयता शिकारीले गैँडा मार्न सकेका छैनन् तर प्राकृतिक कारणले हालसम्मकै धेरै गैँडा मरेपछि संरक्षणका क्षेत्रमा चासो र चिन्ता बढेको छ ।  निकुञ्जमा चालू आवकोे हालसम्म प्राकृतिक कारणले ३२ वटा गैँडा मरेका छन् । गत आर्थिक वर्षभरिमा २५ वटा प्राकृतिक कारणले मरेका थिए । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार हालसम्मकै धेरै गैँडा प्राकृतिक कारणले मरेपछि यसको कारणको खोजी भइरहेको छ ।

विसं २०५८ मा एकै वर्ष ३७ गैँडा चोरीशिकारीले मारेका थिए । त्यसपछिका वर्षमा चोरीशिकार क्रमशः घट्दै गएर नियन्त्रणमा आएको छ । निकुञ्जभित्र प्राकृतिक कारणले मरेकामा भाले–भाले जुधेर, ढिस्कोबाट लडेर, गोहीले हानेर, बाघले खाएर, बच्चा पाउन नसकेर, दलदलमा फसेर, बिरामी भएर र बूढो भएर कालगतिबाट मर्ने गरेका छन् ।  निकुञ्जका प्राविधिक पुरुषोत्तम पाण्डेका अनुसार मङ्गलबार मात्रै दुई बच्चा गैँडा मरेका छन् । उनका अनुसार कुमरोजमा दुई हप्ताको भाले बच्चा गोहीले हानेर मरेको हो । फागुन ८ गते घाइते भएको बच्चा मङ्गलबार मरेको हो । यसैगरी निकुञ्जको खोरिया मुहानमा तीन वर्षको पोथी बच्चा गैँडाको भालेले हानेर मरेपछि मङ्गलबार नै शवपरीक्षण गरिएको थियो ।

गैँडाको औसत आयु ६० वर्ष हुन्छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत ढकालले सङ्ख्या बढ्दै गएपछि प्राकृतिक कारणले मर्नेको सङ्ख्या पनि बढ्दै गएको बताए । अघिल्लो वर्षको बाढीले गैँडाको समूहलाई तितर बितर बनाएपछि प्राकृतिक कारणले बढी गैँडा मरेको ढकालले बताए । निकुञ्ज विभागले प्राकृतिक कारणले गैँडा मर्ने क्रम बढेपछि पर्यावरणविद्को संयोजकत्वमा कार्यदल बनाएर अनुसन्धान गरिरहेको छ । निकुञ्जको तथ्याङ्कअनुसार सन् २०१४ मा आठ, २०१५ मा १५, २०१६ मा १४ र सन् २०१७ मा २४ वटा गैँडा प्राकृतिक कारणले मरेका थिए । यसअघि चोरी–शिकारबाट सबैभन्दा बढी सन् २००२ मा ३६, सन् २००३ मा ३०, सन् २००५ मा १६ र सन् २००० मा १५ वटा गैँडा मारिएका थिए । २०७३ साल चैत २५ गतेपछि चोरी–शिकारबाट भने गैँडा मर्न पाएका छैनन् । चोरी–शिकारबाट गैँडा नमरे पनि प्राकृतिक कारणबाट मर्ने सङ्ख्या बढेपछि चिन्ता व्यक्त गरिएको हो । पछिल्लो गणनाअनुसार निकुञ्जमा ६०५ गैँडा छन् । यसै आर्थिक वर्षमा पुनः गैँडाको गणना हुँदैछ ।