प्रदेश 2

‘बेटी बचाउ बेटी पढाउ’ कार्यक्रमप्रति आकर्षण

वीरगञ्ज । पश्चिमी पर्साको सखुवाप्रसौनी गाउँपालिका–५ महुवनकी ९ वर्षीया बबुनीकुमारी रामको दिनचर्या बाख्रा चराउन र मेलापात गर्नमै बित्ने गरेको छ । शिक्षाको पहुँचबाट टाढा रहेकी बबुनीलाई कखरासम्मको ज्ञान थिएन । साथीसँग दिनभरि बाख्रा चराउने, मेलापात गर्ने गरेकी उनमा एक्कासि पढ्ने जाँगर आएपछि बबुनीले आफ्नी आमा जगमतीदेवी रामसँग आफू पनि पढ्ने जिद्दी गरिन् । बाध्य भएर जगमतीले नजिकैको दलित प्राथमिक विद्यालयमा उनलाई भर्ना गराए।

बबुनीलाई पढ्ने हौसला दिलाइदिएको हो प्रदेश नं २ को सरकारले ल्याएको प्रभावकारी कार्यक्रम ‘बेटी बचाउ बेटी पढाउ’ कार्यक्रमले । यो कार्यक्रमले बबुनी मात्र होइन पश्चिमी पर्साको ग्रामीण क्षेत्रका अधिकांश छात्रा यो कार्यक्रमबाट आकर्षित भएकाले सामुदायिक विद्यालयमा छात्राको सङ्ख्या बढ्दै गएको हो ।

सखुवाप्रसौनी गाउँपालिका–५ महुवनस्थित दलित प्राथमिक विद्यालयमा बाल कक्षादेखि ५ कक्षासम्मको पठनपाठन हुँदै आएको छ । दुईसय २१ विद्यार्थीमध्ये ११२ दलित छात्रा नै छन् । चमार, मुसहर, मुस्लिम, कानु, समुदायका बालबालिका अध्ययन गर्ने सो विद्यालयमा चमार जातिका छात्राको सङ्ख्या बढी छ ।

प्रदेश नं २ को सरकारले ल्याएको ‘बेटी बचाउ बेटी–पढाउ’ कार्यक्रमकै प्रभावका कारण विद्यालयमा छोराभन्दा छोरीको सङ्ख्या बढ्दै गएको हो । महुवनस्थित दलित प्राथमिक विद्यालयका प्रधानाध्यापक जदुप्रसाद साहले भने, “३ देखि १३ वर्ष उमेरसम्मका विद्यार्थी रहेको यो विद्यालयमा छात्राको सङ्ख्या बढ्दै गएकाले कक्षाकोठाको अभाव भएको छ ।”

शिक्षा विकास तथा समन्वय एकाइको तथ्याङ्कअनुसार जिल्लामा रहेको सामुदायिक विद्यालयमा छात्रभन्दा १० प्रतिशत बढी छात्रा छन् । जिल्लाका १ देखि १२ कक्षासम्म पठनपाठन हुने विद्यालयमा ९५ हजार २३६ विद्यार्थी रहेकामा सोमध्ये छात्राको सङ्ख्या ५२ हजार ४६७ छ भने छात्रको सङ्ख्या ४२ हजार ७६६ छ ।

“दुई दशकपछि भएको स्थानीय निकायको निर्वाचनपछि गठन भएको प्रदेश सरकारले ल्याएको योजनामध्ये यो योजना प्रदेश नं २ मा प्रभावकारी बन्दै गएका कारण यहाँका सामुदायिक विद्यालयमा छात्राको सङ्ख्या बढ्दै गएको हो”, सखुवाप्रसौनी गाउँपालिका–५ महुवनका समाजसेवी कमलेशप्रसाद कलवार भने ।

पश्चिमी पर्साको भारतीय सीमा सिक्टासँग जोडिएको छिपहरमाई गाउँपालिका– ५ भिस्वा बजारमा रहेको मङ्गल माविमा कक्षा १ देखि कक्षा १२ सम्म पठनपाठन हुने सो विद्यालयमा करीब एक हजार २०० विद्यार्थी रहेकामा ६० प्रतिशत छात्राको सङ्ख्या छ । “सामुदायिक विद्यालयमा छात्रभन्दा छात्राको सङ्ख्या बढ्नाको कारण बेटी बचाउ बेटी पढाउ’ कार्यक्रमको प्रभावकारिता नै भएको प्रधानाध्यापक शिवशङ्कर सिंहको भनाइ छ ।

“विगतमा चेतनाको अभाव, छोरीलाई पढाउनु हुन्न भन्ने सोच तथा छोरीप्रति गरिने भेदभावका कारण कतिपय अभिभावकले आफ्ना छोरीलाई शिक्षाको अबसरबाट बञ्चित गराउँथे”, वीरगञ्ज महानगरपालिका–२४ रामगढवाका बुद्धिजीवी शेषमन पण्डित भने, “ देश सङ्घीयतामा गइसकेपछि र प्रदेश सरकारले ल्याएको ‘बेटी बचाउ बेटी पढाउ’ कार्यक्रमको प्रभावले अहिले सबैले छोरीलाई पढाउन थालेका हुन् ।”

सामुदायिक विद्यालयमा स्थानीय सरकारले निःशुल्क शिक्षा दिनाका साथै खाजा दिने र छात्रवृत्तिसमेत दिने गरेकाले छात्राको शिक्षाप्रति आकर्षण बढ्दै गएको सम्बन्धित निकायको भनाइ छ । छोरालाई निजी विद्यालयमा पढाउने तर छोरीलाई पढाउँदा बढी दाइजो दिनुपर्ने सङ्कीर्ण मानसिकताले ग्रस्त समाजले छोरीलाई पढाउनबाट हिचकिचाउने गरेकामा अहिले छोरी शिक्षाप्रति आकर्षण हुनु चेतनाकै प्रभाव भएको शिक्षाविद्को भनाइ छ । पर्सामा ३६३ सामुदायिक छन् ।