समाचार

डोको बुन्न भ्याइनभ्याइ, उमेरले छपन्न तर जोश र जाँगर युवा जस्तै

बेझाड । रामपुर नगरपालिका–५ सानीअमराई बस्ने चिमनारायण मानन्धरले ५६ वर्षको समय डोको बुनेर बिताए । उमेरले डाँडापारिको घाम बन्नुभएका मानन्धरको डोको बुन्ने कार्यमा अझै पनि जवानी अवस्थाकै जस्तै जोश जाँगर देखिन्छ ।

यो उमेरमा पनि उनी आफैँ बाँसको चोया काँढेर डोको बुन्ने गर्नुहुन्छ । “आफैँ बाँस खोज्न गाउँ गाउँमा जान्छु, घर ल्याएर चोया काँढ्छु, दिनभर डोको बुन्छु”, उनले भने । दिनमा चोया काँढेर उनले एक वटा डोको सिध्याए ।

मानन्धरले एक वटा डोकोको मूल्य रु २५० देखि ३०० सम्ममा बिक्री गर्नुहुन्छ । “डोकोको माग गाउँघरमा बढिरहेको छ, डोको बुनेर नसक्दासम्म ग्राहक पर्खेर घरमै बसिरहन्छन्”, उहाँ बताउनुहुन्छ । “हातमा सीप छ, घामपानीमा निस्कन नपर्ने र बूढेसकालमा दिन बिताउने बाटो पनि बनेको छ”, मानन्धर भन्नुहुन्छ । उहाँले सानै उमेरदेखि बाउँबाजेसँग डोको बुन्ने सीप सिकेर व्यावसायिक रुपमा जीवनभर यो पेशा अंगाल्नुभएको हो ।

“डोको बुनेर पहिला त छोराछोरीको पढाइ खर्च, घरखर्च चलाउँथे, अब त छोराछोरी सबै आआफ्नै पेशा व्यवसायमा लागेका छन्, डोको बुनेको केही रकम बंैकमा जम्मा गर्दै आएको छु”, मानन्धरले बताउनुभयो । जीवनको अन्तिम समयसम्म पनि डोको बुन्ने उहाँको इच्छा छ । यस क्षेत्रमा डोको बुन्ने जनशक्ति कम हुँदा मानन्धरलाई डोको बुन्न यतिबेला भ्याइनभ्याइ छ । डोको बुन्ने व्यवसाय सँगसँगै किराना पसल पनि उहाँले चलाउनुभएको छ । पसलमा बसेर डोको बुन्ने गर्नुहुन्छ ।

विदेशको खाडीमुलुकमा गएर पसिना बगाउनुभन्दा घरमै बसेर डोको बुनी परिवार पाल्न युवापुस्तालाई उहाँ अनुरोध गर्नुहुन्छ । हातमा सीप भयो भने जीवन बिताउन समस्या छैन । ज्येष्ठ नागरिक मानन्धरको व्यवसाय सबैका लागि उदाहरणयोग्य छ ।

भूकम्पले क्षति पुगेको विद्यालयको भवन पुनःनिर्माण हुँदै भूकम्पले क्षति पुगेको रामपुर नगरपालिका–१ स्थित छम्के आधारभूत विद्यालयको चार कोठे पक्की भवनको निर्माण कार्य शुरु भएको छ । २०७२ वैशाखमा गएको भूकम्पले क्षतिग्रस्त सो विद्यालयको भवन पुनःनिर्माणमा कसैको ध्यान पुगेको थिएन । लामो समयदेखि भूकम्पले क्षति पुगेको भवनभित्रै जोखिमरुपमा विद्यालय सञ्चालन हुँदै आएको छ ।

अहिले पुनःनिर्माण प्राधिकरणको अनुमानित रु ७० लाखको अनुदान सहयोगमा चारकोठे पक्की भवन निर्माण कार्य शुरु गरिएको विद्यालयका प्रधानाध्यापक डोलराज पाण्डेले बताउनुभयो । “आर्थिक र भौतिक दुवै क्षेत्रमा निकै कमजोर रहेकाले जोखिम मोलैरै भएपनि भूकम्पले क्षति पुगेको भवनमा विद्यालय सञ्चालन गरिरहेका छौँ, लामो समयपछि अहिले बल्ल भवन निर्माणका लागि अनुदान सहयोग मिलेको छ”, प्रधानाध्यापक पाण्डेले भन्नुभयो ।

यहाँ कक्षा नर्सरीदेखि पाँचसम्म अङ्ग्रेजी माध्यममा पठनपाठन हुँदै आइरहेको छ । हाल नर्सरी, केजी र एक कक्षा भूकम्पले क्षति पुगेकै भवनमा राखेर पठनपाठन गराउँदै आएको उहाँले बताउनुभयो । नयाँ भवन निर्माणका लागि रामपुर नगरपालिकाका प्रमुख मित्रलाल कँडेलले तीन आना जग्गा निःशुल्क सहयोग गर्नुभएको छ । गाउँको विद्यालय भएकाले पनि यहाँ भवन पुर्नःनिर्माणका लागि कहीँकतैबाट सहयोग पुग्न नसकेको स्थानीय अभिभावक बताउँछन् । भवन अभावकै कारण पनि पछिल्लो समय विद्यालयमा विद्यार्थी सङ्ख्या घट्दो क्रममा रहेको छ ।