स्वास्थ्य

आँखाको सेवा लिने ९५ प्रतिशत भारतीय

चितवन । नेपाल नेत्रज्योति सङ्घ चितवनले पर्साको ठोरीमा सञ्चालन गरेको आँखा उपचार केन्द्रमा सेवा लिन आउने बिरामी अधिकांश भारतीय नागरिक रहेका छन् । सङ्घले विसं २०७२ देखि आँखा उपचार केन्द्र ठोरीको नाममा आँखा अस्पताल सञ्चालन गर्दै आएको छ ।

अस्पतालमा दैनिक ५० देखि ६० उपचारका लागि आउने र तीमध्ये ९५ प्रतिशत भारतीय नागरिक रहेको भरतपुर आँखा अस्पतालका सूचना अधिकारी रमेश घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार अस्पतालमा उपचारका लागि भारतका विभिन्न ठाउँबाट बिरामी आउने गरेका छन् ।

अस्पताल रहेको ठाउँबाट भारतीय सीमा तीन किलोमिटर टाढा पर्दछ, जहाँ दैनिक सरदर पाँच जनाको शल्यक्रिया हुँदै आएको छ । गौतमनगरमा रहेको विद्यालयको भवन भाडामा लिई सेवा दिँदै आएकामा केही दिनमै अस्पतालको आफ्नै भवनबाट सेवा दिने तयारी गरिएको छ । अस्पतालमा एक नेत्र विशेषज्ञसहित नौ प्राविधिक कर्मचारीले काम गर्दै आएका छन् ।

नेपाल नेत्रज्योति सङ्घका सभापति कृष्णराज धरेलका अनुसार भारतको बिहारभन्दा सेवा राम्रो र सस्तो भएकाले भारतीय नागरिक उपचारका लागि ठोरी आउने गरेका छन् । यस्तै बाराको सिम्रौनगढमा पनि आँखा उपचारका लागि आउने बिरामीको सङ्ख्यामा ३० प्रतिशत भरतीय नागरिक रहेको धरेलले जानकारी र्दिए । भरतपुर आँखा अस्पतालमा उपचार गराउन आउनेमध्ये तीन प्रतिशत विदेशी नागरिक छन् ।

अस्पतालले विभिन्न सेवाकेन्द्रमार्फत वार्षिक एक लाख ५० हजार बढी बिरामीलाई सेवा दिँदै आएको छ । ठोरीमा मात्रै गत वर्ष सात हजारले सेवा लिएका थिए । चालू आर्थिक वर्षमा सङ्ख्या बढ्दो रहेको छ । पुस मसान्तसम्ममा पाँच हजार ६०० ले सेवा लिइसकेका छन् ।