समाचार

अबको यात्रा विकासतर्फ केन्द्रित – मन्त्री थापा

बेनी । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले सरकारले सङ्घीयता कार्यान्वयनका लागि जग बसाइसकेकाले अब विकास र समृद्धिको यात्रा प्रारम्भ हुने बताए छ । पहिलो वर्षमा सङ्घीयताको मर्मअनुसार नीति, नियम र कानून निर्माणमा सरकारको समय व्यतीत भएको उल्लेख गर्दै मन्त्री थापाले अबको यात्रा विकासतर्फ केन्द्रित भएको बताए ।

जिल्ला समन्वय समिति म्याग्दीको विशेष जिल्लासभामा बुधबार उनले एक वर्षको अवधिमा २५ कानून निर्माण भएको जानकारी दिए । उनले २३ विधेयक संसद्मा दर्ता भएको र १६५ पुराना कानूनलाई संशोधनका लागि संसद्मा पेश गरिएको बताए ।

स्थानीय तह बलियो बन्न सकेमा मात्रै जनताका आवश्यकता पूरा हुने बताउँदै उनले जनताका आवश्यकतालाई ध्यानमा राखेर प्रभावकारी योजना छनोट र कार्यान्वयनमा लाग्न स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गरे । सडक, खानेपानी, भवनलगायत भौतिक पूर्वाधारसँगै महिला, बालबालिका, ज्येष्ठ नागरिकलगायतले समेत अनुभूति गर्नसक्ने सामाजिक न्यायको क्षेत्रमा समेत ध्यान दिनुपर्ने उनले बताए ।

वर्तमान सरकारले भ्रष्टाचारलाई अन्त्य गर्न पहिलो प्राथमिकतामा राखेको उनले भने। उनले स्थानीय तहले समेत त्यसतर्फ ध्यान दिन आग्रह गर्दै, स्थानीय तह, जिल्ला समन्वय, प्रदेश र सङ्घीय सरकारले सहकार्य गरी विकास निर्माण र समृद्धिको यात्रामा अघि बढ्नुपर्ने बताउनुभयो ।

सभामा स्थानीय तहको आव २०७४ र ७५ को वार्षिक समीक्षा र चालू आवको पहिलो चौमासिकको प्रगतिको समीक्षा गरियो । सभामा स्थानीय तहका प्रमुख, उपप्रमुख, जिसस सदस्य, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र जिल्लास्थित सरकारी कार्यालय प्रमुखहरुको सहभागिता रहेको थियो ।