गण्डकी प्रदेश

मन्त्री अधिकारीले निर्वाह गरेको भूमिका मुलुक तथा विशेषगरी गण्डकी प्रदेशले सधैँ सम्झिरहने

कास्की । नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ गण्डकी प्रदेश कार्यालय पोखराले हेलिकप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा पार्टीका केन्द्रीय कमिटी सदस्य रवीन्द्र अधिकारीलगायतको निधनबाट स्तब्ध भएको जनाएको छ ।

अध्यक्ष हितराज पाण्डेले बुधबार साँझ जारी गर्नुभएको शोक वक्तव्यमा संविधानसभाको विकास समितिको सभापति तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीका रूपमा अधिकारीले आफूलाई अग्रणी रूपमा स्थापित गर्नुभएको बताए।

मन्त्री अधिकारीले निर्वाह गर्नुभएको भूमिका मुलुक तथा विशेषगरी गण्डकी प्रदेशले सधैँ सम्झिरहने वक्तव्यमा उल्लेख छ । अधिकारीको निधनबाट पार्टी र देशले एक होनहार सिर्जनशील, लोकप्रिय युवानेता तथा विकासप्रेमी जनप्रतिनिधि गुमाएको वक्तव्यमा उल्लेख छ । वक्तव्यमा नेपालको कम्युनिष्ट आन्दोलनमा मन्त्री अधिकारीले पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै अधिकारीसहित दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जलि तथा उनीहरुका शोकाकुल परिवार तथा आफन्तजनप्रति समवेदना व्यक्त गरिएको छ ।