समाचार

अधिकारीको निधनमा वरिष्ठ नेता पौडेलद्वारा दुःख व्यक्त

दमौली । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको निधन भएकामा दुःख व्यक्त गरेका छन् ।

आज शोक वक्तव्य जारी गर्दै वरिष्ठ नेता पौडेलले उक्त दुर्घटनामा परेका मृतकप्रति श्रद्धाञ्जलि तथा मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । ‘मिजासिला र भद्र व्यक्तिका रुपमा बेग्लै राजनीतिक छवि बनाउनुभएका मन्त्री अधिकारीको निधनमा सरकार, नेपाल कम्युनिष्ट पार्टी, उहाँको परिवार एवं शुभेच्छुकप्रति गहिरो समेवदना व्यक्त गर्दछु,’ उनले भनेका छन् ।

वरिष्ठ नेता पौडेलले दुर्घटनामा ज्यान गुमाउनुभएका यति एयरका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको निधनबाट मुलुकले एक सफल व्यवसायी गुमाएको उल्लेख गरेका छन् । साथै नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, निर्देशक धु्रव भोछिभोया, उपसचिव युवराज दाहाल, हेलिकोप्टर क्याप्टेन प्रभाकर केसी र सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधनले आफूलाई स्तब्ध तुल्याएको उहाँले शोक वक्तव्यमा उल्लेख गरेका छन् ।