खेलकुद

नेपाल ग्लोबल क्वालिफायरमा पुग्न सकेन

काठमाडौँ । थाइल्याण्डमा जारी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप क्रिकेटअन्तर्गत एशिया छनोटको अन्तिम खेलमा नेपालले कुवेतलाई पराजित गरेको छ । बैंककस्थित एसियन इन्सिटच्युट अफ टेक्नोलोजीको मैदानमा नेपालले दिएको ११७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कुवेतले २० ओभरमा नौ विकेट गुमाएर ८६ रन मात्र बनाउन सक्यो । जितका बाबजुत नेपाल ग्लोबल क्वाललिफायर्समा पुग्न भने सकेन ।

कुवेतका लागि कप्तान मार्याम ओमारले सर्वाधिक २९ रन जोडिन् । यस्तै प्रियादा मुरालीले १४ तथा सब्रिन जाकी र मारियामा हेदरले समान १२÷१२ रन बनाए । कुवेतलाई सस्तैमा समेट्न कप्तान रुबिना क्षेत्रीले ह्याट्रिक विकेट लिन सफल भइन् । रुबिनाले अन्तिम ओभरको अन्तिम तीन बलमा लगातार विकेट लिएकी थिइन् ।  कुवेतलाई अन्तिम ओभरमा ३५ रन चाहिएको अवस्थामा बलिङ गर्न आएकी रुविनाले पहिलो तीन बलमा एक वाईडसहित चार रन खर्चेकी थिइन् । त्यसपछिको बलमा भने रुविनाले लगातार विकेट लिइन् । यस्तै करुणा भण्डारीले तीन विकेट लिइन् ।

यसअघि टस हारेर नेपालले कुवेतलाई जीतका लागि ११७ रनको लक्ष्य दिएको थियो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले पूरै २० ओभर खेल्दै सात विकेट गुमाएर ११६ रन बनायो । खराब शुरुआत गरेको नेपालको लागि बिन्दु रावलले अविजित रहँदै सर्वाधिक २८ रनको योगदान दिइन् । ४८ रन जोड्दा पाँच विकेट गुमाइसकेको नेपालको सम्मानजनक योगफलमा बिन्दुले ४९ बलमा एक चौका प्रहार गरिन् ।  त्यस्तै कप्तान रुविना क्षेत्रीले २२ रन बनाइन् । नेरी थापाले १९, काजल श्रेष्ठले १८ रन जोड्दा इन्दु वर्मा र रोमा थापाले समान सात÷सात रन बनाइन् । नेपालकी ओपनर सीता रानामगर र सरिता मगर शून्य रनमा आउट भएका थिए । कुवेतका मर्याम ओमर र प्रियादा मुरालीले समान दुई÷दुई विकेट लिइन् ।