समाचार

समयमा कार्यसम्पादन गर्न निर्देशन

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मातहतका निकायलाई समयमा कार्यसम्पादन गर्न निर्देशन दिएको छ । मन्त्रालयले आज सिंहदरबारमा आयोजना गरेको बेरुजु फछ्र्यौटसम्बन्धी छलफलमा सचिव महेन्द्रमान गुरुङले पूँजीगत खर्चको उपयोग बढाउन कार्यालयका प्रमुख तथा प्रतिनिधिलाई निर्देशन दिएका हुन् ।

पूँजीगत खर्च समयमा नहुनुको अर्थ समयमा काम नहुनु भएकाले खर्च समयमा सकाउन उहाँले प्रमुखलाई सुझाव दिए । आफू मातहतका कर्मचारीलाई काममा लगाउने र काम अघि बढे नबढेको नियमन गर्न उनले प्रमुखलाई निर्देशन दिए । उनले भने, “समयमा काम नभएपछि जसलाई जिम्मेवारी दिइएको हो उसलाई कारवाही गर्नुपर्छ ।”

अहिले दोस्रो चौमासिक सकिन लागेकाले चालू आर्थिक वर्षमा सम्पन्न गर्नुपर्ने काम चाँडो अघि बढाउन सचिव गुरुङले निर्देशन दिए । आगामी आवको शुरुदेखि नै ठेक्का सम्झौता गर्ने र त्यसका लागि असारभित्रै कागजात तयार गर्नुपर्ने उनले बताए । आगामी वर्षका लागि नीति तथा कार्यक्रम बनाउन शुरु गर्नुपर्नेमा उनको जोड छ । उनले भने, “निलो किताबमा पारेर मन्त्रालय मातहतको सबै निकायको नीति तथा कार्यक्रम अर्थमन्त्रालय, योजना आयोग र प्रधानमन्त्री कार्यालय पुगोस् भन्ने हामीले चाहेका छौँ ।” छलफलमा राष्ट्रिय समाचार समितिका महाप्रबन्धक ओपेन्द्र शर्मा, गोरखापत्र संस्थानका अध्यक्ष कृष्णमुरारी भण्डारी, नेपाल टेलिभिजनका अध्यक्ष महेन्द्र विष्टलगायत उपस्थित थिए ।