बाग्मती

तलबवापतको रकमबाट वृद्धवृद्धालाई सम्मान

बनेपा । काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका–५ का वडाध्यक्ष खजेन्ची लामाले आफ्नो तलबवापत आएको रकमबाट यहाँका ज्येष्ठ नागरिकलाई सहयोग तथा सम्मान गरेका छन् ।

च्यासिङखर्कको च्याल्टीमा मङ्गलबार आयोजित कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता गगनकुमार थापाले ७० वर्षभन्दा माथिका १५१ ज्येष्ठ नागरिकलाई हिँडडुल गर्नमा सहज होस् भन्ने उद्देश्यले लठ्ठी वितरण तथा दोसल्ला ओढाएर सम्मान गरे । सो अवसरमा उनले ज्येष्ठ नागरिकलाई राज्यले उचित ढङ्गले सम्मान गर्न आवश्यक रहेको बताउँदै जनप्रतिनिधिले आफ्नो तलबबाट भए पनि ज्येष्ठ नागरिकको सहयताका लागि लठ्ठी वितरण गर्नु राम्रो काम भएको धारणा व्यक्त गरे ।

बेथानचोक गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले शिक्षा, स्वास्थ्य, सुरक्षा र विकास निर्माणका कार्य गाउँपालिकाको प्राथमिकतामा रहेको बताए । वडाध्यक्ष लामाले वृद्धवृद्धाको नजीकको सहारा भनेको लठ्ठी नै भएकाले सोहीअनुसार आफूले उनीहरुलाई लठ्ठी वितरण गरेको बताए । वडाध्यक्ष लामाले रु दुई लाखको लागतमा दुई सय लठ्ठी खरीद गरी १५१ जनालाई वितरण गरिएको जानकारी दिए ।