सुदूरपश्चिम

टेलिकमका रिचार्ज कार्डमा आधा मात्रै पिन नम्बर

डोटी । नेपाल टेलिकमका प्रिपेड तथा पोष्टपेड मोबाइलका रिर्चाज कार्डका पिन नम्बर आधामात्रै भएपछि सेवाग्राही मर्कामा परेका छन् ।

डोटीमा बिक्री वितरण भइरहेका कयौँ रिचार्ड कार्डमा आधामात्रै पिन नम्बर र बिना सिरियल नम्बरका रिचार्ज भेटिएका हुन् । बजारमा बिना सिरियल नम्बर र आधामात्रै पिन नम्बरका कार्ड फेला परेको गुनासो आएपछि नेपाल टेलिकम दिपायल राजपुरका प्राविधिक प्रकाश चौधरीले त्यस्ता कार्ड टेलिकममा बुझाउन आग्रह गरे । उनले भने, “के कति कारणले बजारमा त्यस्ता कार्ड गए, हामी छानबिन गछौँ, हामीलाई बुझाउनुहोस् ।”

बजारमा भेटिएका ती कार्डको कलरसमेत फरक भएको, रिचार्ज गर्ने पिन नम्बर नछोएिको र आधा मात्रै भएको भेटिएको दिपायलका स्थानीय व्यापारी सर्वजित देउवाले बताए । उनले भने, “रिचार्ज कार्डको कलर नै फरक छ, पिन नम्बर पनि आधा मात्रै भएको र नछोपिएको छ ।” बजारमा अहिले भेटिएका ती रिचार्जकार्ड नक्कली भएको हुनसक्ने कतिपय स्थानीयको आशका रहेको छ । यहाँका रिचार्ज बिक्री वितरण गर्ने डिलरबाट ग्राहकले किनेका त्यस्ता कार्ड धमाधम फिर्ता हुन थालेको किरण इलेक्ट्रोनिकका प्रोपाइटर किरण भण्डारीले बताए।

डोटीमा रु ५० का रिचार्ज कार्डमा आधा मात्रै पिननम्बर र बिना सिरियलका भेटिएका हुन् । यस्ता कार्ड बजारमा कति छन् भन्ने तथ्याङ्क सङ्कलन गरी कहाँबाट आएका हुन उक्त डिलरलाई सोधपुछ गरिने नेपाल टेलिकम दिपायल राजपुरले जनाएको छ ।