पर्यटन/संस्कृति

पर्यटकीय गन्तव्य बन्दै नारायणी धाम

कावासोती । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको नारायणी धाम गङ्गेश्वर महादेव मन्दिर धार्मिक केन्द्रको रुपमा मात्र नभई पर्यटकीय स्थल पनि बन्दै गएको छ । शहरको कोलाहल क्षेत्रबाट केही पर नारायणी तटसँगैको मन्दिर परिसरमा पछिल्लो समय वनभोज खान र घुम्न जानेको सङ्ख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ ।

नारायणी नदीको सुन्दरतासँग देखिने चितवन राष्ट्रिय निकुञ्जको मनोरम दृश्य निकै मनमोहक लाग्ने भएकाले पनि यस क्षेत्रमा घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या बढ्दो रहेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कावासोती नगरपालिकाको डण्डादेखि करीब १० किलोमिटरको यात्रापछि आउने नारायणी गङ्गेश्वरधाम परिसर धार्मिक पर्यटन तथा वनभोज स्थलको रुपमा विकास हुँदै गएको छ ।

कावासोती नगरपालिका–१७ अमलटारीमा पर्ने यस क्षेत्रमा २०५२ सालमा महादेवको मन्दिर निर्माण गरेर धार्मिक क्षेत्रको रुपमा विकास गर्न थालिएको थियो । पछिल्लो समय यस क्षेत्रमा वनभोज खान समेत आउने क्रम बढेको धाम व्यवस्थापन समितिका अध्यक्ष युक्तप्रसाद गौडेलले बताए । नजिकै रहेका थारु ग्रामीण बस्ती, अमलटारी घरवाससहित मध्यवर्ती क्षेत्रमा वन्यजन्तु अवलोकन गर्न समेत पाइने भएपछि आन्तरीक पर्यटक यस क्षेत्रमा आउने क्रम बढेको हो । नयाँ वर्ष, विभिन्न चाडपर्व, बिदाको समयमा यस क्षेत्रमा घुम्न आउने आन्तरीक पर्यटकको सङ्ख्या उल्लेख्य हुने गरेको गौडेलले बताए । वैशाख सङ्क्रान्ति, साउनमा बोलबम, माघे सङ्क्रान्तिमा मेला तथा शिवरात्रिको अवसरमा मेलाको आयोजना समेत गरिँदै आइएको छ ।

खेलकूद विकासका लागि वार्षिक रुपमा विभिन्न खेलकूदका कार्यक्रम समेत गर्दै आएको अध्यक्ष गौडेलले बताए । नारायणी धाम परिसरमा आउने व्यक्तिको सुविधाका लागि विश्रामस्थल निर्माण गरिएको छ । धाम परिसरमा वृद्धाश्रम तथा आवश्यक संरचना निर्माणको योजना समेत रहेको समितिले जनाएको छ ।