गण्डकी प्रदेश

पन्ध्र श्ययाको अस्पताल निर्माण हुँदै

पर्वत । यहाँको एक विकट गाउँमा सुविधा सम्पन्न अस्पताल निर्माण हुने भएको छ । पर्वतको महाशीला गाउँपालिका–५ लुंखुदेउरालीमा १५ श्ययाको अस्पताल बनाइने भएको हो ।

साविक लुङ्खुदेउराली प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी १५ श्ययाको अस्पताल बनाउन लागिएको स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष तथा महाशीला गाउँपालिका–५ लुङ्खुदेउरालीका अध्यक्ष जीवनविक्रम उच्चैले जानकारी दिए। सङ्घीय सरकार स्वास्थ तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य केन्द्रको स्तरवृद्धि गरी १५ श्ययासहितको अस्पताल बनाउन अनुमति प्रदान गरेपछि निर्माण प्रक्रिया थालिएको हो ।

सङ्घीय र प्रदेश सरकारको ९० प्रतिशत र स्थानीय महाशीला गाउँपालिकालको १० प्रतिशत साझेदारीमा अस्पताल सञ्चालन गर्न लागिएको अध्यक्ष उच्चैले जानकारी दिए । प्राथमिक स्वास्थ्य केन्द्रको स्तरवृद्धिका लागि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, भूमि सुधारमन्त्री पद्मा अर्याल, गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल र प्रतिनिधिसभा सदस्य पदम गिरीले विशेष पहल गरेको उच्चैको भनाइ छ ।

गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलका अनुसार अस्पतालको नवनिर्मित भवन निर्माणका लागि आवश्यक पर्ने १६ रोपनी जग्गाको व्यवस्थापन भइसकेको छ । पौडेलले भने, “स्वास्थ्यचौकीको नाममा पहिला नै भएको जग्गा र भौतिक संरचनामा केही थप गरेर आवश्यक संरचना निर्माणका लागि जग्गा व्यवस्थापन गरिएको हो । स्थानीय बासिन्दाको सहयोगमा सो जग्गा प्राप्त गरेको उहाँको भनाइ छ । अस्पतालको भवन निर्माण गर्न आवश्यक बजेटसमेत यसै वर्ष विनियोजन भइसकेको बताइएको छ । अब तत्काल भवन निर्माणका लागि आवश्यक तयारी गरिने वडाध्यक्ष उच्चैले जानकारी दिए ।

यस क्षेत्रमा अस्पताल निर्माण भएपछि सानोतिनो स्वास्थ्य समस्याका लागि पनि सदरमुकाम कुश्माबजार, पोखरा, स्याङ्जा जान बाध्य स्थानीयवासी लाभान्वित हुने भएका छन् । यो अस्पतालबाट महाशीला गाउँपालिकाका छ वटै वडा, फलेवास नगरपालिकाको वडा नं १० कुर्घा, पैंयु गाउँपालिकाका भोर्ले र सरौखोला तथा विहादी गाउँपालिकाको बाच्छालगायत स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका बासिन्दा प्रत्यक्षरूपमा लाभान्वित हुने भएका छन् ।