बाग्मती

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी पत्रकार सङ्गठनको नाम अब जनपत्रकार

काठमाडौँ  । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट क्रान्तिकारी पत्रकार सङ्गठनले नाम परिवर्तन गरी अब जनपत्रकार सङ्गठन नेपाल राखेको छ । सबै जिल्ला र क्षेत्रीय समन्वय समितिलाई अब जनपत्रकार सङ्गठन, नेपालको नामबाट कार्यक्रम गर्न निर्देशन दिएको छ । यहाँ मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा सङ्गठनका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले गत पुस ७ र ८ गते बुटवलमा बसेको दोस्रो केन्द्रीय समितिको पूर्ण बैठकको निर्णय तथा पार्टीको सुझावअनुसार सङ्गठनको नाम परिवर्तन गरिएको जानकारी दिए ।

बैठकमा कानूनी र प्राविधिक कारणले सङ्गठनको नाम फेर्नका लागि सुझाव आएपछि निर्णय लिइएको उनले बताउँदै यसअघि क्रान्तिकारी पत्रकार सङ्गठनको नामबाट हुँदै आएका गतिविधि अब जनपत्रकार सङ्गठनको नामबाट हुने बताए ।

प्रेसमैत्री ऐन तथा कानून निर्माणका लागि सङ्गठनले देशका विभिन्न ४० जिल्लामा मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको बहस चलाएको जनाइएको छ । नेपाली पत्रकारिता अहिले जटिल र चुनौतीपूर्ण मोडमा आइपुगेकाले पत्रकारले पछिल्लो विकसित राजनीतिक घटनाक्रमलाई जिम्मेवार र संयमित भएर कलम चलाउन सङ्गठनले आग्रह गरेको छ ।