राजनीति

देश अहिले विकासको पथमा रहेको छः अध्यक्ष दहाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले ‘बेल्ट एण्ड रोड इनिसेटिभ (बिआरआई)’ परियोजनाबाट नेपाललगायत दक्षिण एशियाका जनता लाभान्वित हुने बताएका छन्।

‘बेल्ट एण्ड रोड इनिसेटिभ’ अन्तर्राष्ट्रिय यातायात सङ्घ र नेपाल अटोमोबाइल एशोसिएशन (नासा)को संयुक्त आयोजनामा आजदेखि शुरु भएको बिआरआइसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले आफू प्रधानमन्त्री हुँदा यो परियोजनामा हस्ताक्षर भएकाले आफूलाई गर्वको महसुस भइरहेको बताए ।

उनका अनुसार नेपालमा अहिले शान्ति स्थापना भइसकेको र राजनीतिक रुपमा स्थिरता कायम भएकाले देश अहिले विकासको पथमा रहेको छ । उनले भने, “हामी दुई दशकसम्म राजनीतिक उथलपुथलमा बिताए पनि अबको हाम्रो लक्ष्य भनेको विकास नै हो ।”

यो परियोजना चीनका राष्ट्रपति सी जिन पिङको महत्वाकाङ्क्षी लक्ष्य भएको उनले बताए । नेपालले यसबाट फाइदा लिने प्रशस्त सम्भावना रहेकामा उहाँको जोड छ । उनले भने, “सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’ नारालाई साकार बनाउन पनि परियोजनाले पनि थप सहयोग गर्नेछ ।”

नेपालका लागि चिनियाँ राजदूत हउ यान्चीले विकासोन्मुख देशका लागि बेल्ट एण्ड रोड इनिसेटिभ परियोजना महत्वपूर्ण हुने बताए । उनले भने, “यो परियोजनाले नेपाल र चीनको सम्बन्ध थप मजबुत बनाउन सहयोग गर्नेछ ।”

कार्यक्रमको सहआयोजक संस्था युथ कम्युनिटी फर नेपाली कन्ट्र्याक्टरका अध्यक्ष आनन्द सुवेदीले सम्मेलनले सडक, यातायात र पूर्वाधार विकासका विषयमा विस्तृत रुपमा छलफल हुने बताए ।

बुधबारसम्म चल्ने सम्मेलनमा झण्डै १२ देशका १४० जना सहभागी रहेकोे आयोजकले बताएको छ । सम्मेलनमा छलफलका लागि नेपाल र बिआरआई अभियान, पूर्वाधार र विकास, पर्यटन र व्यापार, सुरक्षित यातायातलगायत विषय तय भएका छन् ।

आयोजकका अनुसार सम्मेलनमा नेपाल, चीन, भारत, संयुक्त अधिराज्य, दक्षिण अफ्रिका, श्रीलङ्का, मलेशियालगायत देशका यातायात क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि र स्थानीय तहका जनप्रतिनिधि सहभागी छन् ।