अन्तर्राष्ट्रिय

कार्डिनल पेल बालयौन दूराचारको आरोपमा दोषी ठहर

मेलबोर्न । पोप फ्रान्सिसका निकटतम सल्लाहकार एवं अस्ट्रेलियाका कार्डिनल जर्ज पेलमाथि दुई बालकमाथि यौन दूराचारको आरोपमा दोषी पाइएको छ । बालयौन दूराचारको आरोपमा दोषी ठहर गरिएका कार्डिनल पेल सबैभन्दा माथिल्लो तहका क्याथोलिक धर्मगुरु हुन् । अस्ट्रेलियाली न्यायाधीशहरुको समिति (जुरी) ले सर्वसम्मत रुपमा पेल दोषी रहेको ठहर गरेको छ । कार्डिनल पेलले सन् १९९० को दशकमा मेलबोर्नस्थित सेन्ट प्याट्रिक्स क्याथेड्रलमा दुई बालक विरुद्ध यौन आक्रमण गरेका थिए ।

हाल ७७ वर्ष पुगिसकेका कार्डिनल पेलले त्यसबखत १२ र १३ वर्षका दुई नाबालकलाई यौन शोषण गरेको बताइएको छ । अदालतको आदेशबाट जमानतमा रहेका कार्डिनल पेलले आफूमाथि लागेका आरोपहरुमा सत्यता नरहेको दाबी गर्दै आएका छन् । भ्याटिकनका तर्फबाट तत्काल कुनै प्रतिक्रिया दिइएको छैन तर पेलले आफू निर्दोश रहेको बताउँदै आएका छन् ।

“कार्डिनल जर्ज पेलले आफू निर्दोश रहेको र त्यसमा आफू अडिग रहेको बताउनुभएको छ,” कार्डिनलका वकीलका तर्फबाट जारी वक्तव्यमा भनिएको छ । जुरीले गरेको फैसलाका विरुद्धमा माथिल्लो अदालतमा पुनरावेदन गरिने वक्तव्यमा उल्लेख छ । पेल विरुद्ध लगाइएका केही अरु आरोपहरु पनि यसअघि फिर्ता लिइएका वा उन्मूक्ति दिइएका छन् ।

पेलले दूव्र्यवहार गरेका भनिएका एक बालकको सन् २०१४ मा मृत्यु भएको थियो । उनको परिवारका सदस्यहरुले पेलका कारण गहिरो दुःखमा परेका ती बालकको लागूऔषधको सेवनबाट मृत्यु भएको दाबी गर्दै आएका छन् । दोस्रा पीडित व्यक्तिका तर्फबाट वकीलले जारी गरेको एक वक्तव्यमा जारी कानुनी प्रक्रिया निकै तनाबपूर्ण रहेको र यो अझै समाप्त नभएको बताइएको छ । “अरु पीडितहरुझैं मैले पनि लज्जा, एकान्तपन, उदासी अनुभूत गरेको छु ।”