लुम्बिनी

अनुदान वितरणमा विभेद गरेको आरोप

नारायणपुर । दाङको घोराही उपमहानगरपालिका–४ सिस्ने खोलामा सन्त घर्तीमगरले व्यावसायिक बङ्गुरपालन गर्न थालेको वर्षौँ भयो । उनको विश्वास बङ्गुर फार्ममा अहिले २७ माउ र ६० बढी पाठापाठी छन् । सरकारले कृषकको लागि दिने अनुदान कुन चराको नाम हो भन्ने उनलाई थाहा छैन ।

जगत दर्लामीले पनि सातवर्षदेखि व्यावसायिक बङ्गुरपालन गर्दै आएका छन्। घोराही–१३ एकटा टोलमा उनले शुरु गरेको नवीन बङ्गुर फार्म अध्ययन अवलोकन गर्न स्थानीय तहदेखि प्रदेश सरकारबाट विभिन्न व्यक्ति आए तर अनुदान कार्यक्रममा परेन । “हामीसँग ठूलो लगानी छैन, तर व्यावसायिकरूपमा बङ्गुरपालन शुरु गरेको धेरै भइसक्यो”, दर्लामीले भने, “हामीले सरकारसँग केही आशा राख्नुपर्ने बाध्यता छ, तर पहुँचमा भएका एक दुईजना व्यक्तिका कारण वास्तविक कृषक मर्कामा छन् ।”

घोराही उपमहानगरपालिका–१३ सेवार डुम्मर गाउँमा तुल्सी कृषि थाप पशुपक्षीपालन फार्म सञ्चालन गर्दै आउनुभएका तुल्सीराम बुढाले पनि बङ्गुरपालन गर्दै आएका छन्। बङ्गुर व्यवसायी सङ्घ नेपालका जिल्ला सचिव भएर काम गर्दै आएका कृषक बुढाले पटक÷पटक एउटै व्यक्तिलाई सरकारले अनुदान दिँदा अन्य कृषक मारमा परेको बताए । “अहिलेसम्म देउखुरीमा मात्रै अनुदान कार्यक्रम वितरण भएको छ”, बुढाले भने, “घोराही तुलसीपुरका बङ्गुरपालक कृषक राज्यले दिने अनुदानबाट वञ्चित छन् ।”

बङ्गुरपालक कृषकका लागि प्रदेश सरकारदेखि स्थानीय सरकारले दिने गरेको अनुदानमा आफ्नो नजिकको मान्छेलाई मात्र दिने गरेको कृषकमा व्यापक गुनासो छ । बङ्गुर व्यवसायी सङ्घ नेपालका जिल्ला उपाध्यक्ष उर्मिला वलीले अनुदान वितरण कार्यक्रममा कर्मचारीले विभेद गर्ने गरेको आरोप लगाए । “कमिसनको भरमा अनुदान बाँड्ने परम्पराले कृषक मारमा परेका छन्”, कृषक दर्लामीले भने, “जसले कमिसन दिन्छ उसैलाई अनुदान दिने प्रवृत्तिका कारण वास्तविक कृषक समस्यामा छन् ।”